कृष्णप्रसाद यादव नेतृत्वको सरकारले शपथग्रहण लिएको लिएको दश दिनपछि मन्त्रिमण्डल विस्तार गरिएको छ । तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् विस्तार भए पनि जसपा नेपाल भने अझैसम्म मधेश सरकार सहभागी भएको छैन ।
आगामी पुस २ गते सभामुख चयनको निर्वाचन प्रक्रिया अघि बढाइने र ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने सत्तारुढ सात दलीय गठबन्धनको बैठकबाट निर्णय भएको छ ।
आगामी पुस २ गते दिउँसो १ बजे सभामुख चयनबारे निर्वाचन प्रक्रिया अघि बढाइने छ भने पुस ४ गते दिउँसो ४ बजे विश्वासको मत लिने निर्णय भएको जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए छन् ।
मन्त्रिमण्डल विस्तार भएसंगै नेकपा माओवादी केन्द्रबाट जवाहर लाल कुशवाहालाई उर्जा, सिचाइँ तथा खानेपानी मन्त्रालय र लोसपा नेपालबाट रानीकुमारी तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।
यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी जनमत पार्टीबाट महेशप्रसाद यादव र विनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र नेपाली कांग्रेसबाट जंगीलाल रायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका छन् ।
जितेन्द्र सोनल सरकारको पालामा विनाविभागीय मन्त्री बनेका कनिष पटेल र महेशप्रसाद यादव दोहोरिएका छन् भने लोसपा नेपालले आफैले गरेको निर्णयलाई बेवास्ता गर्दै पुनः तिवारीलाई मन्त्रीमा दोहो¥याएको छ । जसपा नेपाल भने अहिलेसम्म पनि सरकारमा सामेल भएको छैन । यद्यपि सभामुख र भौतिक पूर्वाधार विकास मन्त्रालय भने जसपा नेपालले नै पाउने स्रोतले दाबी गरेको छ ।
जसपा नेपाल मधेश प्रदेश सांसदीय दलको बैठक नबसेको र पार्टीको केन्द्रीय अध्यक्षबाट समेत निर्देशन नआएकाले अहिलेसम्म मधेश प्रदेश सरकारमा सामेल हुन सकेको छैन । एक नेताले जनाए अनुसार सभामुख र भौतिक पूर्वाधार विकास मन्त्रालय जसपा नेपालले नै पाउने भए पनि केन्द्रीय अध्यक्षबाट मन्त्रालयको जिम्मेवारी कसलाई तोक्नेबारे टुंगो लाग्न सकेको छैन ।
जसपा नेपालको आन्तरिक बैठककै कारणले मधेश प्रदेश सरकारमा सहभागी हुनमा ढिलाइ भइरहेको जनाइएको छ । जसपा नेपालबाट सभामुखमा रामअशिष यादवकै चर्चा रहेको बताइन्छ । पूर्वमुख्यमन्त्री सोनलको बेला देखि नै रहेको सात दलीय गठबन्धनले मन्त्रीमा नयाँ अनुहारलाई ल्याउने निर्णय भए पनि सो निर्णय वर्तमान प्रदेश सरकारमा लागु भएको देखिएको छैन । उनले प्रतिपक्षी दल एमालेको महाधिवेशनमा लागेका कारण विश्वासको मत लिन ढिलाइ भएको बताए ।
यादव नेतृत्वको सरकारलाई जसपा नेपाल, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् । एमालेबाट मुख्यमन्त्री बनेका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्नु अघि सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेको थियो ।
नवनियुक्त दुबै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।यससंगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् ६ सदस्यीय विस्तार भएको छ । अहिले मधेश सरकारमा कांग्रेसका मुख्यमन्त्री र एक मन्त्री, नेकपा एस, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रका १/१ जना सहभागी छन् । प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकबाट सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव अनुमोदन गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिने प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार कार्यविधि स्वीकृत भएसँगै सभामुख चयनको औपचारिक प्रक्रिया अघि बढाइने छ ।
यसअघि गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डलले पदअनुकूल आचरण नगरेको ठहरसहित दुई तिहाइ बहुमतबाट पारित प्रस्तावका आधारमा पदमुक्त भएका थिए । तथापि छ वटा मन्त्रालयको जिम्मेवारी अझै पनि मुख्यमन्त्री यादवले नै सम्हालिरहेका छन् ।



