महोत्तरी – मटिहानी नगरपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बिउ वितरण सुरु गरेको छ।
उक्त कार्यक्रमको औपचारिक शुभारम्भ नगर प्रमुख हरि प्रसाद मण्डलले शनिबार गर्नुभयो। सो अवसरमा नगर प्रमुख मण्डलले किसानको आयआर्जन वृद्धि गर्न तथा आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सहयोग गर्दै आएको बताउनुभयो। उन्नत जातको बिउ प्रयोगबाट उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि हुने उहाँको विश्वास छ।
नगरपालिकाको कृषि शाखाकी प्रमुख संध्या साहका अनुसार पालिकाभित्रका करिब ५०० जना गहुँ खेती गर्ने किसानलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरिएको हो। यसबाट किसानलाई राहत पुग्नुका साथै आगामी सिजनमा गहुँ उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो।
कृषि शाखाका सह–संयोजक टंक प्रसाद उपाध्यायले वडाको सिफारिसका आधारमा किसानको नागरिकताको प्रतिलिपि संकलन गरी वास्तविक किसानलाई मात्रै अनुदानको सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो।
गहुँको बिउ वितरण कार्यक्रममा वडा अध्यक्षहरू कलिम अंसारी, जीत नारायण माझी, रितेश साह, मिश्री नायक, मोहम्मद रयूफ, कृषि शाखा प्रमुख संध्या साह, कार्यपालिका सदस्यहरू अरुण नाहर, राम पदारथ साहलगायत जनप्रतिनिधि तथा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



