पोखरा महोत्सवमा सहभागी हुन निम्तो

८ घन्टा अगाडी न्युज डेस्क

पोखरा महोत्सवमा सहभागी हुन निम्तो

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने २७ औं पोखरा सडक महोत्सवमा सहभागी हुन पोखराका पर्यटन व्यवसायीहरुले जनकपुरवासीलाई औपचारिक रुपमा निम्तो दिएका छन ।

सोमवार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको टोलीले आम नागरिक सहित यहाँका उद्योगी व्यवसायी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूलाई महोत्सवमा सहभागी हुन आग्रह गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै महोत्सव संयोजक वसन्त गौतमले विगत २६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको पोखरा सडक महोत्सव यस वर्ष पनि निरन्तरताका साथ सञ्चालन हुन लागेको जानकारी दिए ।

उनका अनुसार यही पुस १३ गतेदेखि १७ गतेसम्म फेवा तालको किनारमा रहेको पोखराको लेकसाइड क्षेत्र महोत्सवस्थलका रूपमा रहनेछ । अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा पोखरालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रत्येक वर्ष यो महोत्सव आयोजना हुँदै आएको गौतमले बताए । ‘पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य सत्कारलाई एकैसाथ प्रस्तुत गर्ने यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ,’ उनले भने ।

महोत्सवका प्रमुख आकर्षणहरूबारे जानकारी दिँदै आयोजक समितिले विविध जातजातिका मौलिक सांस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तर्र ाष्ट्रिय परिकार समेटिएको फुड फेस्टिभल, चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट, लोक दोहोरी कार्यक्रम, फेवा तालमा आयोजना हुने बोट रेस, टग अफ वार प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिने जनाएको छ ।

रेवान पोखराका प्रतिनिधिहरूले महोत्सव केवल मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय उत्पादन, कला, संस्कृति र व्यवसाय प्रवद्र्धनको साझा थलोका रूपमा स्थापित हुँदै आएको बताए । महोत्सव अवधिभर होटल, रेष्टुरेन्ट, यातायात, हस्तकला तथा अन्य पर्यटनसँग सम्बन्धित व्यवसायमा सकारात्मक प्रभाव पर्ने विश्वास आयोजकको छ ।

साथै उनीहरुले आगामी दिनमा पोखरी सँगै जनकपुरधामको पर्यटकीय विकासका लागि सहकार्य गरेर अघि बढने प्रतिबद्धता जनाए । उनले जनकपुरधाम र पोखरालाई एकसाथ पर्यटनको रुपमा विकास गर्न यहाँका पर्यटन व्यवसायीहरुसँग समन्वय र सहकार्य आग्रह गरे ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?