महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका–८ स्थित खाल्टे बजार, महादेव मन्दिर नजिकैको गौशाला–खाल्टे बजार भित्री सडकखण्डमा प्रहरीद्वारा चेकजाँचका क्रममा अवैध लागूऔषध गाँजासहित दुई जना व्यक्ति र एक थान मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
ईलाका प्रहरी कार्यालय, गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ढल्केबरबाट खाल्टे बजारतर्फ आउँदै गरेको BR 30 W 1309 नम्बरको १५० सीसी क्षमताको रातो–कालो रंगको पल्सर मोटरसाइकललाई रोकी जाँच गरेको हो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा उक्त मोटरसाइकलमा सेतो प्लाष्टिकको बोरामा बेरिएको ५ किलो २८० ग्राम र ५ किलो ३७० ग्राम गरी दुई पोका, जम्मा १० किलो ६५० ग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
मोटरसाइकल चालक जिल्ला महोत्तरी, सोनमा गाउँपालिका–३ का स्थायी बासिन्दा रामदेव बैठाका नाती तथा इन्द्रजित बैठाका छोरा अन्दाजी २० वर्षका हरेन्द्र बैठा रहेका छन्। त्यसैगरी मोटरसाइकलमा सवार रामदेव बैठाकै नाती तथा राम छबिलाल बैठाका छोरा अन्दाजी २१ वर्षका अर्जुन बैठा रहेका छन्।
प्रहरीका अनुसार एक पोका गाँजा मोटरसाइकलमा राखिएको सेतो प्लाष्टिकको बोराबाट र अर्को पोका अर्जुन बैठाले पछाडि बोकेको कालो झोलाबाट बरामद गरिएको हो।
बरामद गरिएको लागूऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल तथा दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय, गौशालामा ल्याइएको छ। घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।



