बारा । चितवन–पर्सा कम्प्लेक्स अन्तर्गत चितवनबाट आजदेखि सुरु हुने राष्ट्रिय बाघ गणनामा एक हजारभन्दा बढी जनशक्ति परिचालन गर्नुका साथै एक सय क्यामेरा जडान गरिने भएको छ ।
नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्म एउटै कम्प्लेक्स मानेर बाघ गणना गरिनेछ । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघ देखिएका ठाउँमा क्यामेरा ट्याप विधिबाट गणना गरिने बताए ।
उनले बाघका पाइला भेटिएका, पर्याप्त घाँसे मैदान र आहारा प्रजाति भएको ठाउँमा पनि क्यामेरा जडान गरिने जानकारी दिए ।
‘पुसको पहिलो हप्ता फिल्डमा क्यामेरा जडान गरिन्छ । गणनाको क्रममा एउटै क्यामेरालाई दुई हप्तासम्म एक ठाउँमा राखिन्छ,’ प्रमुख संरक्षण अधिकृत खतिवडाले भने, ‘बाघ गणना गर्न करिब ८० देखि ९० दिन लाग्छ । गणनामा चितवन–पर्सा कम्प्लेक्समा मात्रै प्राविधिक, कर्मचारी सामुदायिक वन समूहहरू गरी १ हजारभन्दा बढी जनशक्ति खटिन्छन् ।’
बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा १२ वटा क्याम्प राखिनेछ । एउटा क्याम्पमा १० देखि १२ जनाको प्राविधिक टोली रहनेछ ।
एक पटक गणना भएको बाघ नदोहोरियोस् भन्नका लागि सफट्वेयरको माध्यमबाट परीक्षण गरिने खतिवडाले बताए । ‘बाघ कहिल्यै पनि प्रत्यक्ष गणना गरिँदैन । अप्रत्यक्ष गणना गर्दा कम र बढीको तथ्याङ्कलाई राखेर औसत तथ्याङ्क सार्वजनिक गर्ने हो,’ उनले भने, ‘गणनामा २ वर्ष मुनिका बघिनीसँगै रहेका डमरुलाई उल्लेख गरिँदैन ।’
आमासँगै रहेका २ वर्ष मुनिका डमरु सिकार खेल्न सक्षम हुँदैनन् भने भाले बाघले मार्ने जोखिम बढी भएकाले जोगाउन मुस्किल हुने गर्दछ । आफैँ सिकार खेल्न सक्ने र स्वतन्त्र ढंगले बाँच्न सक्ने भएर आमाबाट छुट्टिएका बाघमात्रै गणनामा उल्लेख हुने निकुञ्जले जनाएको छ ।
बाघ गणनामा राष्ट्रिय निकुञ्ज विभाग, वन विभाग, डब्लुडल्लुएफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल लगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोग रहनेछ । राष्ट्रिय बाघ गणना हरेक ४ वर्षमा हुने गर्दछ ।
यसअघि सन् २०२२ मा भएको राष्ट्रिय बाघ सर्वेक्षणमा पर्सा निकुञ्जमा वयस्क पाटे बाघको संख्या ४१ पुगेको थियो । सन् २०१८ मा १८ रहेको बाघ संख्या ४ वर्षको अन्तरालमा दोब्बरभन्दा माथि उक्लिएको हो । प्रमुख संरक्षण अधिकृत खतिवडा यसपटक वयस्क बाघको संख्या ५० देखि ५५ सम्म पुग्ने आकलन रहेको बताउँछन् ।
‘बाघ सम्बन्धी अपराधमा हामी कति सफल भयौँ, दुर्घटनामा कति बाघको ज्यान गयो, मानवसँगको द्वन्द्वमा कति क्षति भयो, त्यसैको आधारमा तथ्याङ्क आकलन गर्ने हो,’ खतिवडाले भने, ‘पर्सा राष्ट्रिय निकुञ्जमा घाँसे मैदान, आहारा प्रजाति र बासस्थान एकदमै राम्रो भएर पनि पानीको अभावले बाघ धेरै धान्न सक्ने अवस्थामा छैनौँ ।’
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जका बाघ नयाँ बासस्थानको खोजीमा पर्सा राष्ट्रिय निकुञ्जसम्म आइपुग्ने गर्दछन् । पर्सा राष्ट्रिय निकुञ्जले बाघ गणनापछि आउने तथ्याङ्कको आधारमा मानव र बाघ बिचको द्वन्द्व न्यूनीकरणका लागि जनतासँग जोडिएका कार्यक्रम ल्याउने जनाएको छ ।
मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुसँगको समन्वयमा निकुञ्जले यसैवर्षदेखि ‘बाघ मित्र’ कार्यक्रम समेत सुरु गरेको छ । ‘बाघको संख्या बढ्दा यसलाई पर्यटनसँग जोडेर समृद्धि हासिल गर्न सकिन्छ । त्यसैले बाद्ध समृद्धिका लागि बाघ हो, समस्याका लागि होइन भनेर आम नागरिकलाई बुझाउन सक्नुपर्छ,’ संरक्षण अधिकृत खतिवडाले भने, ‘बाघबाट मानवीय क्षति हुन नदिन र यसलाई कोर क्षेत्रमै राख्न पानी अत्यन्तै जरुरी छ ।’
सन् २०२२ देखि २०२५ सम्म आइपुग्दा मानव–बाघ द्वन्द्व, मानवीय प्रतिशोध, जंगलमा द्वन्द्वमा परेर निकुञ्जले खोरमा राखेका घाइते बाघ गरी करिब ६ देखि ८ वटा बाघले अकालमा ज्यान गुमाएका छन् ।
पर्सा निकुञ्जमा पहिलो पटक सन् २०१३ मा गरिएको सर्वेक्षणले ७ वयस्क बाघ देखाएको थियो । सन् २०१८ मा गरिएको गणनामा निकुञ्जमा १८ वयस्क बाघ फेला परेका थिए । २०२२ को गणनामा ४१ वयस्क बाघ पाइएको थियो ।
बागमती र मधेस प्रदेशमा छोएको पर्सा निकुञ्ज बारा, पर्सा र मकवानपुर गरी ३ जिल्लाको ६२७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।



