जनकपुरधाम । मधेस प्रदेशमा सातदलीय गठबन्धन सरकारभित्र मतभेद देखिन थालिसकेको छ ।
सोमबार मुख्यमन्त्री कृष्णप्रसाद यादवले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा (एकीकृत समाजवादी)का कनिष पटेललाई दिएपछि जनमत पार्टीले कडा आपत्ति जनाउँदै सरकारबाट फिर्ता हुने चेतावनी दिएको हो ।
जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेशसभा सदस्य वसन्त कुशवाहाले गठबन्धनको सहमतिविपरीत पर्यटन मन्त्रालय अन्य दललाई दिइएको भन्दै सरकार छाड्नेसम्मको चेतावनी दिएका छन् । उनका अनुसार सरकार गठनअघि जनमत पार्टीलाई अर्थ मन्त्रालय र पर्यटन मन्त्रालय दिने प्रतिबद्धता गरिएको थियो, तर पर्यटन मन्त्रालय अन्य दललाई दिएर सहमति उल्लंघन गरिएको हो ।
रातोपाटीसँग कुराकानी गर्दै कुशवाहाले भने, ‘चालु आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत १० हजार रोजगारी सिर्जना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरिएको छ । तर भागबन्डाको नाममा त्यो मन्त्रालय अरूलाई दिनु भनेको रोजगारीसम्बन्धी सम्पूर्ण कार्यक्रमलाई अलपत्र पार्नु हो ।’
कुशवाहाका अनुसार चालु आर्थिक वर्षको बजेट निर्माणका बेला जनमत पार्टीकै सतीशकुमार सिंह नेतृत्वको सरकारमा पर्यटन मन्त्री रहेका कारण सो मन्त्रालयअन्तर्गत धेरै योजना जनमत पार्टीले अघि सारेको थियो । यही कारण जनमतले पर्यटन मन्त्रालयमा दाबी गर्दै आएको थियो । तर सोमबार मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गर्दै यसअघि बिनाविभागीय मन्त्री रहेका कनिष पटेललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
उपाध्यक्ष कुशवाहाले पार्टीको उद्देश्यअनुसार सरकारमा सहभागिता सुनिश्चित नभए मधेस प्रदेश सरकारबाट अलग हुने स्पष्ट चेतावनी दिएका हुन् ।
यता सोमबार बसेको सातदलीय गठबन्धनको बैठकमा सबै दलबाट एक–एक जना मन्त्री राख्ने सहमति भए पनि मन्त्रिपरिषद् विस्तारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सहभागी भएको छैन । जसपा नेपालले भौतिक पूर्वाधार विकास मन्त्रालय र सभामुख पद आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।
सातदलीय गठबन्धनतर्फबाट हालसम्म नेपाली कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई जना, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट एक–एक जना मन्त्री मन्त्रिपरिषद्मा सहभागी भएका छन् ।



