सुरक्षित खानेपानी पहुँच विस्तार गर्ने उद्देश्यसहित सिरहाको गोलबजारमा निर्मित २३ औँ खानेपानी आयोजनाको उद्घटन गरी सञ्चालनमा ल्याएको छ ।
हेल्पिङ ह्याण्ड यूएसए नेपालको सहयोगमा हेल्पिङ हर्ट नेपालद्वारा निर्मित गोलबजार नगरपालिकास्थित नुरुल इस्लाम मदरसा बल्कवा परिसरमा निर्माण भएको उक्त खानेपानी परियोजनाको उपमेयर मान्ती साहलगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । वि.सं. १९९१ सालमा स्थापना भएर ९१ वर्षको ऐतिहासिक विर ासत बोकेको यस मदरसामा निर्माण गरिएको खानेपानी परियोजनाले स्थानीय करिब हजार दुई सय परिवार र मदरसाका २५० विद्यार्थी र शिक्षक लाभान्वित हुनेछन् ।
हेल्पिङ हर्ट नेपालका उपाध्यक्ष मोहमद तल्हाले यो संस्थाले विसुद्ध सामाजिक भावले कुनै किसिमको भेदभाव नगरी सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएको स्पष्ट पारेका छन् । उनले विपन्न, सुकुम्बासी, अल्पसंख्यक समुदायका लागि यो संस्थाले लामो समयदेखि काम गर्दै आएको बताए । उनले गोलबजार नगरपालिका क्षेत्रमा हालसम्म २२ वटा खानेपानी परियोजना सञ्चालन भइसकेको र यो २३ औँ भएको बताए ।
उनले शिक्षा क्षेत्रमा पनि संस्थाले योगदान दिइरहेको जानकारी गराएका हुन् । माध्यमिक विद्यालय बल्कवामा २ जना शिक्षक र १ जना सुरक्षागार्ड संस्थाको तर्फबाट उपलब्ध गराइएको, नेपालको सयौँ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको तथा सिरहा जिल्लाका ४५० जना अनाथ बालबालिकालाई मासिक रूपमा नगद तथा खाद्य सामग्री सहयोग गर्दै आएको जानकारी गराए ।



