तोकिएको मितिमा चुनाव हुँदैन ः निवर्तमान सांसद सिंह

१ घन्टा अगाडी न्युज डेस्क

तोकिएको मितिमा चुनाव हुँदैन ः निवर्तमान सांसद सिंह

महोत्तरी – सरकारलाई खबरदारी गर्दै देशको विभिन्न मुद्दालाई कडाईका साथ उठाएर सधैं चर्चामा रहने गरेका निवर्तमान स्वतन्त्र साँसद डा.अमरेशकुमार सिंहले तोकिएको मितिमा चुनाव नहुने बताउनुभएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज नेपाल प्रेस युनियन महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्राविधिक कारणहरुले गर्दा तोकिएको मितिमा निर्वाचन नहुने बताउनुभयो ।

देशमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात बनेको प्रधानमन्त्री सुशिला कार्कीको सरकारले आम निर्वाचनका लागि तोकेको फागुन २१ गतेका दिन हिमाली क्षेत्र र केहि पहाडी क्षेत्रमा अत्यधिक हिउँ पर्ने बेला रहेको र तराई मधेशमा होली पर्वको भोलिपल्ट हुने भएकोले चुनाव हुन सक्ने अवस्था नरहने उहाँले बताउनुभयो ।

नेता सिंहले देशमा वर्तमान सरकार र ठूला राजनीतिक दलले आम निर्वाचनको नयाँ मिति तोक्न एक अर्काको प्रतिक्षा गरिरहेको बताउनुभयो ।उहाँले प्रधानमन्त्री सुशिला कार्कीले दलहरु आपसमा छलफल गरेर सरकारलाई नयाँ मिति तोक्न आग्रह गरोस भन्ने चाहना राखेको बताउनुभयो भने दलहरुले सरकारले नयाँ मिति तोकोस भन्ने चाहना राखेको बताउनुभयो । तर प्रधानमन्त्री कार्कीको सरकारले तोकिएको मितिमा चुनाव हुँदैन भनेपछि दलहरुले साँसद व्युँताएर पुनस्र्थापना गर्ने दाउमा समेत रहेको नेता डा.सिंहले बताउनुभयो ।

उहाँले देशका तीन ठूला दलका अध्यक्षहरु नेपाली काँग्रेसका शेरबहादुर देऊवा, नेकपा एमालेका के.पी.ओली शर्मा र नेपाल कम्युनिष्ट पार्टीका पुष्पकमल दाहालले जेनजीका मुद्दाहरु विस्तारै सेलाउँदै साँसद पुनस्र्थापना गर्न चाहेको ठोकुवा पनि गर्नुभयो ।

एमालेले शेरबहादुर देऊवालाई प्रधानमन्त्री दिएर साँसद पुनस्र्थापना गराउने दाऊमा रहेको र काँग्रेसले प्रचण्डलाई पनि व्यवस्थापन गरेर साँसद पुनस्र्थापना गर्ने दाऊमा रहेको नेता डा.सिंहले बताउनुभयो ।

काँग्रेस, एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रकै कारण देशमा जेनजी आन्दोलन भएको बताउँदै नेता डा.सिंहले अब तीनवटै दलले वर्तमान सरकारलाई असफल गराएर जेनजीका प्रभाव विस्तारै कम गर्दै जाने र त्यसपछि परिस्थिति अनुकुल देखेर देशमा साँसद पुनस्र्थापना गर्ने दाउमा रहेको आरोप लगाउनुभयो ।

उहाँले देशमा कुनै पनि हालतमा तोकिएको मिति फागुन २१ गते चुनाव हुँदैन र चुनाव नभए देशमा थप ठूलो आन्दोलन हुने अवस्था सृजना हुने दावी पनि गर्नुभएको छ ।निवर्तमान स्वतन्त्र साँसद डा.सिंहले नेपाल राजनीतिक अस्थिरताका कारण आर्थिक, सामाजिक, राजनीति सबै क्षेत्रमा निक्कै पछाडि गइसकेकोले मुलुकलाई बी दिनसम्म आपसी द्वन्द्वमा फसाइराख्नु पनि हितकर नहुने र त्यसका लागि निर्वाचनको विकल्प समेत नरहेकोले तुरुन्त नयाँ मिति निर्धारण गरेर देशमा आम निर्वाचनको वातावरण तयार गर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?