चालु आर्थिक वर्ष ०८२/०८३ को मंसिर महिनामा विभिन्न प्रकृतिका १३३ वटा अपराध मुद्दा दर्ता भएका छन् भने ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा जघन्य अपराधतर्फ ४ वटा मुद्दा दर्ता भएकोमा २ जना पक्राउ परेका छन् भने ३ जना फरार रहेका छन् ।
यस्तै, गम्भीर प्रकृतिका २२ वटा मुद्दामा १३ जना पक्राउ परेका छन् भने १५ जना फरार रहेको छ । गत एक महिनाको अवधिमा प्रतिवादीतर्फ ९६ जना पक्राउ परेका छन् भने ११५ जना अझै फरार रहेका छन् । अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले सक्रियता देखाएको छ । ५० जनालाई पक्राउ गरी ९१० वर्ष ८४ महिना २२३ दिन बराबरको कैद कार्यान्वयन गरिएको छ ।
साथै, बिगो र क्षतिपूर्तिबापत ६ लाख ६४ हजार ८ सय रुपैयाँ असुल उपर गरिएको प्रहरीले जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरि कसँग सम्बन्धित उजुरीहरू पनि उल्लेख्य संख्यामा दर्ता भएका छन् । ज्येष्ठ नागरि कसम्बन्धी ४ वटा उजुरी परेका छन् । हराएका व्यक्तितर्फ २२ महिला र २३ बालबालिका हराएको विवरण दर्ता भएकोमा २ महिला, १ बालक र ५ बालिका फेला परेको जिप्रका धनुषाले जनाएको छ । घरेलु हिंसातर्फ ५८ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये २४ वटा उजुरी मिलापत्र गराई समाधान गरिएको वा अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रत्यक्ष रूपमा जिल्ला प्रहरी कार्यालयमा परेका ठाडो उजुरी १०४ वटा रहेकामा ४८ वटा फछ्र्यौट भएका छन् भने ५६ वटा बाँकी छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका १०० उजुरीमध्ये ५२ वटा फछ्र्यौट भएको जनाइएको छ ।
यस्तै, लागूऔषध नियन्त्रणतर्फ ५ वटा मुद्दा दर्ता गरी ७ जनालाई पक्राउ गरिएको छ । प्रहरीले ८३३ किलो १७० ग्राम गाँजा र १३.९७ ग्राम खैरो हिरोइन बरामद गरेको छ । अनुचित लेनदेन नियन्त्रणतर्फ १० वटा निवेदनका आधारमा मिलापत्र गराई २३ लाख ७५ हजार रुपैयाँ बराबरको रकम तथा घरजग्गा फिर्ता गराइएको विवरण सार्वजनिक गरिएको छ ।
बितेको मंसिर महिनामा जिल्लामा १११ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १९६ जना घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण तीव्र गति, चालकको लापरबाही र सवारी साधनको आन्तरिक समस्या रहेको प्रहरीको विश्लेषण छ । चेकजाँचका क्रममा ७४६ सवारी साधनमाथि कारबाही गरी राजस्व संकलन गरिएको छ ।
जिप्रका प्रवक्ता प्रहरी निरीक्षक मनोजकुमार यादवद्वारा हस्ताक्षरित जारी सो तथ्यांकमा नागरिकता सिफारिसलगायत विभिन्न कागजातका लागि ५०४ वटा मुचुल्का तयार गरिएको जनाइएको छ ।



