तराइ खबर समाचारदाता- जनकपुरधाम, प्रदेश नं २ को जनकपुरमा नयाँ पिसिआर मेसिन ल्याइएको छ। प्रादेशिक अस्पतालको कोरोना परीक्षण ल्याबमा नयाँ पिसिआर मेसिन आइपुगेको छ। पुरानो पिसिआर मेसिनले कोरोना परीक्षणको रिपोर्ट गलत दिन थालेपछि नयाँ मेसिन ल्याएको हो।
चैत २१ गतेबाट सञ्चालनमा आएको पिसिआर मेसिनले सर्लाही र रौटहटका दुई जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ दिएको थियो। तर, थप परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएपछि उनीहरूको ‘रिपोर्ट पोजेटिभ’ आयो। त्यही कारण रिपोर्ट गलत दिइरहेको विज्ञहरूले निष्कर्ष निकाले र परीक्षण बन्द गरियो।
प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले नयाँ पिसिआर मेसिनको जडान कार्य भइरहेको जानकारी दिए। उनले जडान छिट्टै सक्ने र कोरोना परीक्षणको कार्य थालिने बताए। मिडिया ब्रिफिङमा बोल्दै उनले भने, ‘पुरानो मेसिनमा प्राविधिक समस्या आएको छ। त्यसैले नयाँ मेसिन ल्याएको जानकारी गराउन चाहन्छु।’
उनले पिसिआर परीक्षणमार्फत् कोरोना संक्रमण पुष्टि भइसकेका बिरामीको उपचार अब जनकपुरस्थित नर्सिङ कलेजमा हुने व्यवस्था मिलाइएको जानकारी दिए । ‘नारायणी अस्पताल वीरगन्ज र प्रादेशिक अस्पताललाई सरकारले कोरोना उपचारका लागि लेभल-२ अस्पताल तोकेका कारण नर्सिङ कलेजमा उपचारको व्यवस्था मिलाइएको छ,’ उनले भने।
उनका अनुसार कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री र पूर्वाधारकोसमेत व्यवस्था भइसकेको छ। महोत्तरीको जलेश्वर अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ। यहाँ ३० बेडको आइसोलेसन वार्ड तयार पारिएको छ। उक्त अस्पताल छिट्टै सञ्चालनमा आउनेछ।
पछिल्लो २४ घण्टामा सप्तरीमा ४ जना र पर्सामा ६५ जनाको आरडिटी परीक्षण गरिएको सचिव घिमिरेले बताए। उनका अनुसार यसअघि सप्तरीमा १ हजार १३ जना र पर्सामा २ हजार ३ सय ६७ जनाको आरडिटी परीक्षण गरिएको थियो।
प्रदेश २ मा हालसम्म ४ जना कोरोना संक्रमित बिरामी उपचारपश्चात् डिस्चार्ज भइसकेका छन्। बाँकी ८ जना संक्रमित उपचाररत छन्। उनीहरूको उपचार वीरगन्जस्थित नारायणी अस्पतालमा भइरहेको छ।
प्रदेश २ मा १६ जना कोरोना संक्रमितको आशंका गरिएका बिरामीको आइसोलेसनमा उपचार भइरहेको सचिव घिमिरेले बताएका छन्।
सभार:- महोत्तरी टुडे