धर्मेन्द्र कुमार यादव – महोत्तरी
महोत्तरी, बैशाख २१ गते । महोत्तरीमा शंकास्पद रुपमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । आईतवार विहान भंगहा नगरपालिका ७ का ५४ बर्षिय रुद्र नारायण सिंह दनुवारको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १२ पुगेको हो ।
दनुवारको मृत्यु रक्सी सेवनले नभएको महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
वैशाख १० गते यता ११ दिनको अवधिमा वर्दिवास नगरपालिका र भंगहा नगरपालिकामा १२ जनाको रहस्यमय मृत्यु भएपछि स्थानियहरु त्रासमा डुव्नुको साथै गाँउ नै शोकमा डुवेका छन ।
कमाएर दैनिक गुजारा चलाउनेहरुको धमाधम मृत्युको खवरले गाँउभरिमा त्रसित हुनुको साथै स्थानियहरु शोकमा डुबेका छन । उनीहरुको मृत्युको कारण अझै प्रष्ट भएको छैन । मृत्यु भएकाहरुमा अचानक पेट दुख्ने, श्वास लिन ग्राहो हुने, बान्ता र झाडापखालाजस्ता लक्षणहरु देखा परेको स्थानियहरुले बताएका छन । त्यस्तै कतिको राति ओछ्यानमै सुतेको अवस्थामा मृत्यु भएको छ भने कतिको उपचारकै क्रममा ज्यान गएको हो ।
त्यस्तै स्थानीय केही व्यक्तिले बिषाक्त मदिरा पिएर उनीहरुको मृत्यु भएको बताउँछन् । तर, मदिरा नपिएकाहरुको पनि ज्यान गएकोले अरु कुनै रोगको संक्रमण भएको हुन सक्ने स्थानियहरु बताउँछन् ।
यसरी क्रमिक रुपमा मानिसहरुको ज्यान गएको खवर पाएपछि शुक्रवार दिउँसो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरेल, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, एसपी श्यामकृष्ण अधिकारी, जिल्ला अस्पताल जलेश्वरका डा. राजिब झा लगायत गाँउमै आएका थिए ।
घटनास्थल आउनुभएका जिल्ला जनस्वास्थ्य निरीक्षक गिरेन्द्र कुमार झाले पछिल्लो पटक ज्यान गएकाहरुको स्वाब र भिसेराको परीक्षण गरिरहेको बताएका थिए । रिपोर्ट आएपछि मात्र उनीहरुको मृत्युको कारण खुल्ने जनस्वास्थ्य निरीक्षक झाले बताए। मृतक मध्ये एकजनाको मलेरियाबाट पनि मृत्यु भएको झाले दाबी गरेका छन ।