कोरोनाको जोखिम बढे संगै रोकथामका लागि प्रदेश दुइमा २ अर्ब रुपैया निकासा

५ years अगाडी teraibulletin

कोरोनाको जोखिम बढे संगै रोकथामका लागि प्रदेश दुइमा २ अर्ब रुपैया निकासा

जनकपुर  २६ बैशाख बिश्व संग संगै नेपाल अधिराज्यमा समेत बढ्दै गइरहेको कोरोना भाइरसलाइ रोकथाम नियन्त्रण तथा उपचारका लागी प्रदेश दुई सरकारले दुई अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई अर्ब रुपैयाँ निकासा गरेको जनाएको छ ।

आर्थिक मामिलामा तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठको अनुसार चालु आर्थिक वर्ष २०७६ ७७ मा प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसबाट कोरोना रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि दुई अर्ब रुपैयाँ निकासा भएको र त्यो रकम खर्च भइरहेको उहाले जानकारी दिनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्न सामाजिक विकास मन्त्रालय अन्तर्गत ८६ करोड रुपैयाँ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १० करोड ४५ लाख रुपैयाँ पठाइएको सचिव श्रेष्ठले बताउनुभयो ।

लकडाउन प्रभावितलाई राहत बाँड्न उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई ३३ करोड ७० लाख रुपैयाँ र भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई ३६ करोड रुपैयाँ निकासा गरिएको छ। त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई एक करोड रुपैयाँ तथा भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको चार वटा डिभिजनलाई २५ २५ लाख रुपैयाँका दरले पैसा पठाइएको सचिव श्रेष्ठले बताउनुभयो ।

यसबाहेक प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा २५ करोड रुपैयाँ जम्मा भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।कोभिड कोषबाट धनुषाको नगराइन नगरपालिकाको गङ्गुलीमा रहेको क्वरेण्टीन मर्मतसम्भारका लागि नेपाली सेनालाई ५० लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको छ ।

यसैगरी राजविराजको गजेन्द्रनारायण सिंह अस्पताललाई औषधि, उपकरण र क्षमता अभिवृद्धिका लागि कोषबाट १० लाख रुपैयाँ दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्रेष्ठले बताउनुभयो । कोरोना रोकथाम, नियन्त्रण, उपचार काममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सवारी चालक, पत्रकारलगायत व्यक्तिहरुको ज्यान गएमा ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय प्रदेश सरकारले गरिसकेको छ ।

सचिव श्रेष्ठले आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम निकास गरे पनि अहिलेसम्म खर्च भएको विवरण आइनसकेको बताउनुभयो। ‘कोरोना महामारीका लागि रकम निकासा गरिएको हो, काम भइरहेको छ । चालु आर्थिक वर्षको बजेटबाट रकम निकासा भएकाले जेठ मसान्तसम्म खर्च भएको रकमबाहेक सबै सरकारी कोषमा फिर्ता आउँछ’, श्रेष्ठले भन्नुभयो ।

कोरोना सङ्क्रमणको जोखिमका हिसाबले प्रदेश नम्बर २ लाई सबैभन्दा बढी संवेदनशील मानिएको छ । भारतसँगको खुला सीमा र वैदेशिक रोजगारमा जानेहरुको सङ्ख्या प्रदेश नम्बर २ बाटै बढी भएकाले यस प्रदेशलाई उच्च जोखिमका रूपमा हेरिएको हो ।

अन्तिम अपडेट:२०७७/ बैशाख २६ शुक्रबार

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?