काठमाण्डू २७ बैशाख –भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोमा साझा पार्टीले विरोध गरेको छ l
विज्ञप्ति निकालेर धेरै ठाउँमा भारतद्वारा नेपालको सीमा अतिक्रमण भएको र भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेको र अहिले थप हस्तक्षेप गर्दै सडक मार्ग निर्माण गरेकोमा भत्र्सना साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले गरेका छन ।
भारत सरकारको लगातारका यस्ता कदम अन्तराष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद हुन नसक्नु दुखद् भएको भन्दै साझा पार्टीले आफ्नो भूभागमा छिमेकी देशले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु भएको उल्लेख छ ।
साझा पार्टीले भारतले सबै अतिक्रमित भूमि छोडेर जानुपर्ने, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्ने, पछिल्लो समय भारतले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्ने र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्ने माग पनि गरेको छ ।
अन्तिम अपडेट:२०७७/ बैशाख २७ शनिबार