काठमाण्डौं। कोरोना भाइरसको संक्रमणमा रहेका मध्ये विराटनगरबाट थप दुई जना कोरोना निको भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् ।
१० वैशाखमा अस्पताल भर्ना भएका भोजपुरका २७ वर्षीय युवक र १२ वैशाखमा कोरोना देखिएपछि भर्ना भएकाझापा दमकका ६३ वर्षीय वृद्ध डिस्चार्ज भएका हुन्।
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको जानकारी दिए । उनीहरु अब घरमा नै क्वारेन्टाइन बस्ने समेत डा. दीपक सिग्देलले बताए ।
आइतबार दुई जना डिस्चार्ज भएसँगै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । यसअघि बुधबार ६ र शुक्रबार ८ जना निको भएर डिस्चार्ज भएका थिए ।
नेपालभर अहिलेसम्म १ सय १० जनामा संक्रमण भइसकेको छ भने योलगायत ३३ जना निको भइसेका छन् ।