काठमाण्डौ । प्रदेश नं २ सरकारले ‘लकडाउन’का कारण अतिप्रभावित परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराउने उद्देश्यले दोस्रो चरणको कार्यक्रमअन्तर्गतको कार्यलाई तीव्रता दिएको छ । दोस्रो चरणको कार्यक्रमअन्तर्गत प्रति परिवारलाई २५ किलो चामल, दुई किलो मसुरो दाल, एक किलो नून, आधा किलो सोयाबिन, एक किलो खाने तेल र ७५ ग्रामको एउटा साबुन उपलब्ध गराइएको छ ।
यस प्रदेशका २७ हजार परिवारमा खाद्यान सामग्री वितरण भइसकेको र ८३ हजार परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको छ । दोस्रो चरणको राहत सामग्री वितरण कार्य स्थानीय तहका वडा कार्यालयद्वारा भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जगन्नाथप्रसाद जायसवालले जानकारी गराउनुभयो ।
दोस्रो चरणको राहत वितरण कार्यबाट पनि यस प्रदेशअन्तर्गतका श्रमिक, मजदूर, अतिविपन्न र किसान परिवार लाभान्वित हुने विश्वास गरिएको छ । पहिलो चरणको राहत वितरणमा ढिलासुस्ती भएको गुनासा आएपछि प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमार्फत खाद्यान सामग्री खरिद गरेर वडा कार्यालय उपलब्ध गराउने निर्णय गरेको थियो ।
यस कार्यका लागि प्रदेश सरकारले दोस्रो चरण राहत वितरण कार्यका लागि रु १५ करोड १२ लाख मूल्य बराबरको राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको थियो । यस कार्यका लागि प्रदेशमा आठवटै जिल्लाका प्रत्येक घरेलु तथा साना उद्योग कार्यालयलाई खाद्यान्न सामग्री खरिदका लागि रु एक करोड ८९ लाख उपलब्ध गराइएको थियो । ती कार्यालय बोलपत्र आह्वान गरेर खाद्यान्न सामग्री खरिद गरेको प्रवक्ता जायसवालले जानकारी गराउनुभयो ।
पहिलो चरणअन्तर्गत प्रदेश सरकारले अतिविपन्न परिवार, श्रमिक, मजदूर र किसान परिवारबीच राहत सामग्री उपलब्ध गराउनका लागि प्रत्येक गाउँपालिकालाई रु १० लाख, नगरपालिकालाई रु १५ लाख, उपमहानगरपालिकालाई रु २० लाख र महानगरपालिकालाई रु २५ लाख उपलब्ध गराएको थियो ।