काठमाण्डौ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगी अलपत्र परेका नेपाली कामदारको उद्धार कार्यमा परराष्ट्र मन्त्रालयले सक्रियता बढाएको छ ।
विदेशी भूमिमा अलपत्र नेपालीलाई उद्धार गर्ने क्रममा नुवाकोट जिल्ला पञ्चकन्या–४ थप्रेककी ४८ वर्षीया सीता तामाङ नेपाल आइपुगेकी छिन् । एक वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा उनी कुवेत पुगेकी थिइन् ।
आफूलाई नेपाल फर्काउन गरिएको पहलप्रति खुशी व्यक्त गर्दै तामाङले आज परराष्ट्र मन्त्रालयमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा भनिन् – ‘मलाई नेपाल झिकाउन पहल गर्नुभएकामा धन्यवाद ।’
उनले कुवेतमा आफूले भोगेका दुःख र कष्टका कथा सुनाइन् । विसं २०७३ असार २५ गते आफू त्यहाँ पुगेदेखि निरन्तर मालिकको कुटाइमा परेको र कुटाई सहन नसकेर भाग्न लाग्दा आफ्नो खुट्टा भाँचिएको उनको भनाइ थियो । उनीका अनुसार खुट्टा भाँचिएपछि अस्पताल भर्ना भएको अवस्थाबाट प्रहरीले लगेर १५ दिन हिरासतमा राखेको र त्यसपछि पुनः मालिकले लगेर आफूलाई पटक–पटक कुट्ने गरेको र अन्य व्यक्तिकामा श्रमका लागि बिक्री गरेको थियो ।
अन्ततः फोनका माध्यमबाट दूतावासको सम्पर्कमा पुग्न सफल भएको र परराष्ट्रमन्त्रीको प्रमुख स्वकीय सचिव युवराज चौलागाईँको निरन्तर पहलमा आफू नेपाल आउन सफल भएको उनीले बताइन् ।
मन्त्रालयकै पहलमा एक साताअघि पाँचथर घरभएकी रञ्जिता तामाङलाई ओमनबाट तथा श्यामकुमार बोहोरा, शेरबहादुर नेपाली र रवीन्द्रकुमार यादवलाई मलेसियाबाट उद्धार गरिएको छ । त्यसैगरी, वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका १५ नेपालीको केही दिनअघि उद्धार गरी नेपाल फर्काइएको छ ।
कतारबाट नरबहादुर मगरको उद्धार गरिएको छ । कार्यस्थलमा खटिएका नेपाली कामदारहरू गंगाराम कुँवर, हरि खत्री र वसन्त कुँवरको मृत्यु भएको र उनका आफन्तलाई एकमुष्ट रु एक लाख ५९ हजार ८ सय ६० कतारी रियल क्षतिपूर्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
भेटपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मन्त्रालयको जानकारीभन्दा बाहिर भएका धेरै नेपालीले दुःख पाएको हुनसक्ने भन्दै त्यस्ता सबै नेपाली कामदारको उद्धारका लागि पहल गर्ने विश्वास दिलाए ।
उनले भने,
– ‘मैले सरकारी निकायको कार्यदल बनाएर समस्याको पहिचान गर्न लगाएको छु । त्यसको सुझावअनुसार तीव्ररुपमा उद्धारको कार्य अगाडि बढाउँछौ ।’
मन्त्री महराले व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिसँग सहकार्य गरेर रोजगारीका लागि नेपाली मजदुरलाई विदेश पठाउने कम्पनीहरुको कडाइका साथ नियमन गरिने पनि बताए।