काठमाडौं । एजेन्सी, ६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै देखिनु सम्मानको कुरा भएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढी देखिनुमा आफूहरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताए । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले भने ‘हाम्रो परिक्षण अरुको भन्दा निकै राम्रो छ, यसैले सङ्क्रमितहरु पहिचान भएका हुन्, यसलाई म सम्मानको रुपमा लिन्छु ।’
कोरोना भाइरसको महामारी सुरू भएपछि ट्रम्पले सोमबार पहिलो मन्त्रीपरिषद्को वैठक गरेका थिए । सोही क्रममा ट्रम्पले पत्रकारसँग अमेरिकामा सङ्क्रमितको संख्या विश्वमै सबैभन्दा धेरै रहनु परिक्षण राम्रो हुनु नै भएको बताएका हुन् ।
यो सम्मानको पदक भएको ट्रम्पको भनाई छ । अमेरिकामा अहिलेसम्म १५ लाख ७० हजार पाँच सय भन्दा धेरैमा कोरोनासङ्क्रमण भएकोमा ९३ हजार पाँच सय भन्दा धेरैको ज्यान गइसकेको छ ।
अमेरिकामा तीन लाख ६१ हजार भन्दा धेरैसङ्क्रमित निको भएका छन् । कुल संख्याका हिसाबमा अमेरिकामा विश्वमै सबैभन्दा धेरै व्यक्तिको परीक्षण भएको बीबीसीले जनाएको छ । तर कुल जनसंख्या र परीक्षणको दरमा भने अमेरिका १६ औँ स्थानमा छ ।