कोरोना भाईरस: लकडाउनमा योग र ध्यान (स्वामी ध्रुव संकल्प)

५ years अगाडी teraibulletin

कोरोना भाईरस: लकडाउनमा योग र ध्यान (स्वामी ध्रुव संकल्प)

“स्वामी ध्रुव संकल्प”

आज विश्वमा भएको विज्ञान र प्रविधिको विकासले मानव जीवन जति खुशी र आनन्दित हुनुपर्ने थियो, त्यसको ठीक विपरित (कोविड १९) नोवल कोरोना भाईरसका कारण भय, सोक, चिन्ता र तनावमा छ । जीवन भनेको त जन्म र मृत्युका बिचमा रहेको सुखद र आनन्दित क्षण मात्र हो, तर मानिस त्यही आनन्दित जीवनको सुत्र नबुझेर आज मात्र हैन हरेक युगमा यसरी नै भय, सोक, चिन्ता र तनावमा बाँच्दै आइरहेको छ ।

विज्ञानले मानिसको आयुलाई त लम्ब्यायो तर बुढ्यौलीलाई रोक्न सकिरहेको छैन । चिन्ता र तनाव मुक्त जिवन दिन सकिरहेको छैन । यातायातका साधनहरुको विकासले यात्रा त छिटो भइरहेको छ तर भय रहित बन्न सकिरहेको छैन । सूचना र प्रविधिको विकासले विश्वलाई जति खुशी दिन खोजिरहेको छ त्यति नै दुःख बढीरहेको छ । प्रत्येक दिन यसैको कारणले मानिस द्वन्द र सोकमा डुबीरहेको छ । भौतिक उन्नती नै सम्पूर्ण उपलब्धि हो भन्ठानी प्रकृतीको दोहन गर्ने मानिस स्वस्थ वातावरण र स्वस्थ खानेकुराको प्राप्तिका लागि दिनमा १४ घण्टा काम गर्दा पनि अभाव र छटपटीमा बाँच्न बाध्य भइरहेकोे छ ।

बर्ग समानता र बर्ग विहिन समाज बनाउने भन्दाभन्दै नबुझेरै होला खिचडी जस्तो देश र समाज बनेको देखेर राजनीति पनि छक्क परिरहेको छ । शरीरमा रगतको भुमिका झै राजनीतिले देशमा आफ्नो भुमिका निर्वाह गर्नुपर्ने तर सबै क्षेत्रमा व्यापार र व्यापारी हावी हुदै गईरहेको छ । शिक्षा र स्वास्थ व्यापारीको हातमा, राजनीति पनि व्यापारी कै हातमा, उद्योग व्यापार त झन व्यापारी कै हातमा रहने नै भयो । श्रमिक बर्गले पनि श्रमको विशेषता नबुझेर होकि , काम नगर्दा श्रम त्यसै खेर जान्छ भन्ने कुराको पनि हेक्का नराखी घाटा नाफा कै व्यापारमा अडान लिई वेरोजगार हुन खोजीरहेकोछ । साँचो अर्थमा भन्ने हो भने विश्व नै आज पनि वर्ग व्यवस्थापनको सुत्र बुझेको कुशल राजनीतिक नेतृत्वको अभावमा दिशाविहिन भइरहेको भान हुन्छ । कतिपय व्यक्तिहरु देशको कमजोर नेतृत्वको विरोध गर्दागर्दै थाहै नपाई बषौं जेलनेल भोगी सोही योग्यता भँझाएर राजनीतिक नेतृत्व लिई शासक बन्न पुगेका पनि छन् । देशको शासन भार आफ्नो हातमा परेपछी पनि निरन्तर राजनीति शास्त्रको अध्ययन गरी देशको राजनीति व्यवस्थापनका लागि सचेत रहनुपर्नेमा, एक पटकको मौका हो भनेर अर्थ कुम्ल्याउने सोच र चिनतनमा, नातागोता पाल्नमा नै उनीहरु व्यस्त देखिन्छन् । देशका नागरिक सचेत र स्वस्थ भएभने, हामीले देशको राजनीतिक नेतृत्व गुमाउनेछौं भन्ने डरले, देशको शिक्षा र स्वास्थ्यलाई जानेर नजानेर राज्यको दायित्वबाट बाहिर, व्यापारीको हातमा सुम्पने पनि यिनै हुन् ।
कुनैपनि देशको सर्वाङ्गिण विकास त्यो देशको शिक्षा र स्वास्थ्यको विकासमा नै भर परेको हुन्छ । जब सम्म कुनैपनि देशले शिक्षा र स्वास्थ्यको विकासलाई प्रमुखता दिई, त्यसको निरन्तर निगरानी गर्दैन भने तब सम्म अरु कुनैपनि क्षेत्रको विकास फगत कागजमा मात्र सिमित भएर रहन्छ ।

आज हामी सबैले जान्नु र बुझ्नुपर्ने बिषय भनेकै मानव जीवन र समुदायलाई कसरी सचेत र स्वस्थ बनाउन सकिन्छ भन्ने नै हो । यसैका लागि पनि सबै देशको प्राथमिक विषय आफ्नो देशको स्वास्थ्य र शिक्षालाई सरल र सुलभ ढंगले सबै नागरिकको पहुँचमा पु¥याउने हुनुपर्छ । यो सब गर्नका लागि धेरै धनराशिको आवश्यकता पहिलो बिषय हैन । त्यसका लागि त राजनीतिक ईच्छाशक्ति चाहिँ प्रमुख हो । एक कुशल राजनीतिक नेतृत्वसँग प्रवल आत्मविश्वास हुन आवश्यक छ । तब उस्ले आफ्ना सम्पुर्ण नागरिकहरुमा आत्मविश्वास र प्रेरणा जगाई आँफु बाँचेर मात्र आफ्नो परिवार, समाज र राष्ट्रलाई बचाउन सकिन्छ भनेर बुझाउन सक्दछ ।
आँफु आत्मविश्वासी बन्न सर्वप्रथम सबैमा आत्मज्ञान हुन आश्यक छ । आत्मज्ञान अर्थात म को हूँ ? भन्ने जान्न र बुझ्न आवश्यक छ । यो आत्मज्ञान योग र ध्यानको साधनाबाट मात्र सम्भव छ । योग र ध्यानको साधनाको ज्ञान आध्यात्मिक शिक्षाले मात्र दिन सक्छ । जब कुनैपनि व्यक्तिले योग र ध्यानलाई आफ्नो दैनिक जीवनको अन्य कर्म झैं अभिन्न कर्म ठानेर साधनारतः रहन्छ तब मात्र उसले आत्मज्ञान प्राप्त गर्दछ । त्यही आत्मज्ञानी व्यक्तिले मात्र वास्तवमा भय, सोक, चिन्ता र तनाव भनेको के रहेछ भन्ने बुझ्दछ र तीबाट कसरी टाढा हुने भन्नेकुरा जान्दछ ।

भय, सोक, चिन्ता र तनावको कारण के हो ? र यसको व्यवस्थापन कसरी गर्ने ? भन्ने बिषयमा जानकार आत्मज्ञानी व्यक्ति मात्रै, देश निर्माणका लागि अशल र कुशल जनशक्ति बन्न सक्छ । राज्यको प्रमुख दाहित्व भनेकै सबै भन्दा पहिले आफ्ना सबै नागरिकलाई कसरी आत्मज्ञान प्रदान गरेर आत्मविश्वासी बनाउन सकिन्छ भन्ने सोच्नु नै हो । यसका लागि आज देशमा प्रवल राजनीतिक ईच्छा शक्ति भएको व्यक्तिको खाँचो छ ।

(लेखक नमुना अंग्रेजी विद्यालय, गौरादह नगरपालिका, झापामा प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्छ।

इमेल: [email protected]

फेसबुक: https://www.facebook.com/photo?fbid=1859800424085113&set=a.105505049514668

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?