काठमाडौं । मारवाडी युवा मञ्चले रोग प्रतिरोधात्मक मानिने औषधि वितरण गरेको छ । नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा सिफारिस गरिएको होमियोप्याथिक औषधि पोखरा महानगरका विभिन्न स्थानमा प्रदान गरिएको मञ्चका अध्यक्ष सन्तोषकुमार अग्रवालले जानकारी दिनुभयो ।
पोखरा –९ का टोल सुधार समितिका अध्यक्ष भीमबहादुर कुँवरको समन्वयमा वडाका जनप्रतिनिधिको सहयोगमा वडाका विभिन्न टोलका लक्षित समुदायलाई रोग प्रतिरोधात्मक भनिएको सो औषधि वितरण गरिएको हो । “रोगप्रतिरोधात्मक क्षमता कम हुँदा सरुवाजन्य रोगको सङ्क्रमण बढ्न जान्छ, यो आयुर्वेद विभागद्वारा सिफारिस गरिएको रोग प्रतिरोधात्मक औषधि भएकाले देशका विभिन्न स्थानहरुमा वितरण गरेका हौँ ” अग्रवालले भन्नुभयो ।
मञ्चका सचिव मनोजकुमार मोरका अनुसार होमियोप्याथिक आर्सेनिकम एल्बम ३० सी नामक उक्त औषधि मारवाडी सेवा समितिमार्फत देशका विभिन्न स्थानमा निःशुल्क वितरण भइरहेको छ । रोगप्रतिरोधात्मक क्षमता भएको भनिएको सो औषधि पर्याप्त जानकारीसहित वितरण गरिएको छ । सो औषधि दुई गोली बिहान खाली पेटमा तीन दिनसम्म र त्यसपछि दुईदुई गोली सातामा एक पटक तीन सातासम्म खानुपर्ने बताइएको छ । मोरले होमियोपेथिक चिकित्सकको निगरानीमा प्याकिङ गरेर देशका ५० जिल्लाका १७ देखि २० लाख जनासम्मलाई औषधि वितरण भइसकेको जानकारी दिनुभयो । रासस