धर्मेन्द्र कुमार यादव- महोत्तरी, सर्लाही जिल्लाको पर्सा गाउँपालिका–३ नारायणपुरमा सशस्त्र प्रहरी र भारतीय नागरिक बीच झड्प भएको छ । स्थिति नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागि एक भारतीय नागरिकको ज्यान गएको छ ।
महोत्तरीको गुलरीयाका एक व्यक्ति भारतीय सिमावर्ती गाउँ लालबनीमा आफ्नो छोरी काँहा जान खोजेपछि सशस्त्र प्रहरीले रोकेपछि भएको बिवाद उग्ररुप लिएपछि दोहरो झडप भएको पर्सा–३ का वडा अध्यक्ष भिखारी साहले जानकारी दिनुभयो । महोत्तरीका ती व्यक्तिका ज्वाईसंग सशस्त्र प्रहरीको बिवाद भएपछि सिमा नजिकै रहेको गाउँबाट ठूलो संख्यामा आएको भारतीय नागरिकले सशस्त्र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि सशस्त्र गोली चलाएको वडा अध्यक्ष साहले बताउनुभयो ।
भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोस्ने प्रयास गरेका थिए । सशस्त्र प्रहरीसँग निहुँ खोज्दै भारतीय नागरिकले बन्दुक खोस्ने प्रयास गरेपछि झडप भएको थियो ।
मृत्यु हुने भारतीय नागरिकको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले १५ राउण्ड फायर गरेको थियो । सशस्त्र प्रहरीले सुरुमा १० राउण्ड हवाई फायर गरेको थियो तर स्थिति नियन्त्रणमा नआएपछि ५ राउण्ड गोली भारतीय नागरिकमाथि चलाउनुपरेको नेपाली सुरक्षा अधिकारीले जनाएको छ ।
जसमा तीन जना भारतीय नागरिकलाई गोली लागेको थियो । जसमध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । झडपमा दुई जना सशस्त्र प्रहरी पनि घाईते भएको जनाईएको छ ।
झडपमा संलग्न मध्य एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।