काठमाण्डू ८ असोज –कोरोना संक्रमित थप ५ जनाको मृत्यु भएको छ । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए ।गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो ।
यस्तै ,असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुएको छ ।उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. गौतमले बताउनुभएको छ ।यता, चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक युवकको मृत्यु भएको छ ।
तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ ।अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको गयराति मृत्यु भएको हो।डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो।उता, डडेलधुरा जिल्लामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो। डडेल्धुरामा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ ।
यसै गरी सप्तरीमा एक जनाको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनमा भदौ ३१ गते कोरोना पोजेटिभ देखिएको थियो। ।