३ जेठ, कीर्तिपुर (काठमाडौं) – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय मदनकुमार भण्डारी र जीवराज आश्रितको ३२औं स्मृति दिवस आज देशभर विविध कार्यक्रममार्फत मनाइँदैछ।
यस अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौंको बल्खुस्थित मदन नगरमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा आयोजना गरिने कार्यक्रम तय भएको छ।
एमाले पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुस्थित पार्टी कार्यालय निर्माणमा मदन भण्डारी स्वयंले अग्रसरता लिएका थिए।
२०४६ सालको जनआन्दोलन सफल भएपछि खुला राजनीतिमा प्रवेश गरेको तत्कालीन एमालेले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरलाई अस्थायी केन्द्रीय कार्यालयका रूपमा प्रयोग गरेको थियो। त्यसपछि पार्टी कार्यालय बल्खु सारिएको थियो।
२०७२ सालको विनाशकारी भूकम्पपछि कार्यालय भवन प्रयोग गर्न अयोग्य भएपछि भत्काइएको थियो। अहिले सोही परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा अवस्थित छ।
पछिल्लो केही वर्षमा एमालेको केन्द्रीय कार्यालय धूम्रबाराही र थापाथली हुँदै हाल ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थानान्तरण गरिएको छ।
तर, मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित पुरानो कार्यालय परिसर र त्यहाँ रहेको मदन भण्डारीको प्रतिमाले विशेष महत्व पाउँदै आएको छ।