चट्याङले लागेपछि दुई दिनसम्म बलिरह्यो कटहरको रुख

१ महिना अगाडी न्युज डेस्क

चट्याङले लागेपछि दुई दिनसम्म बलिरह्यो कटहरको रुख

३ जेठ, काठमाडौं – देशभर मौसम बद्लिएको सन्दर्भमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१०, बाँसटौवामा चट्याङले एउटा ठुलो कटहरको रुखमा आगो लागेपछि त्यसले दुई दिनसम्म बलिरहँदा स्थानीयवासी त्रसित बनेका छन्।

वडाध्यक्ष कुमार तामाङका अनुसार चट्याङ जेठ १ गते बिहीबार राति १२ बजेतिर परेको हो। चट्याङ सो स्थानको एउटा पातरहित तर पूर्णरूपमा नसुकेको कटहरको रुखमा पर्‍यो। चट्याङ परेपछि रुखमा तुरुन्तै आगो बल्न थाल्यो।

“चट्याङ लागेपछि रुख पड्किँदै बल्न थाल्यो,” वडाध्यक्ष तामाङले भने, “सुरुमा हामी आफैंले निभाउने प्रयास गर्यौं, तर सफल भएनौं।”

पानी परिरहेकै बेला आगो बढ्दै गएपछि स्थानीयवासीले उपमेयर विष्णुमणि नेपाललाई खबर गरे। उपमेयरमार्फत सशस्त्र प्रहरीको टोलीलाई सूचित गरियो।

तर, सूचना ढिला प्राप्त भएको सशस्त्र प्रहरी बलको १५ नम्बर गण, पाँचखालका एसपी प्रेमप्रसाद प्रसाईंका अनुसार आफूहरूले शुक्रबार दिउँसो २:३६ मा मात्रै खबर पाएका थिए। “हामीले खबर पाएलगत्तै टोली पठायौं,” उनले भने, “रुखको टुप्पादेखि नै बलिरहेको थियो, निभाउन कठिन भयो।”

रुख काटेर आगो नियन्त्रणमा ल्याउने निर्णय भए पनि त्यसका लागि जोखिमपूर्ण रणनीति अपनाउनुपर्‍यो। “चढेर निभाउन पनि सकस थियो, आगोका झिल्का उडेर घरमा पर्न सक्ने जोखिम थियो,” एसपी प्रसाईंले बताए।

अन्ततः डोरीको सहायताले रुखका हाँगाहरू काटेर आगो नियन्त्रणमा ल्याइएको थियो। दमकल पनि ल्याइए तापनि ठाउँसम्म पुग्न कठिन भएकाले त्यसको प्रयोग गर्न सकिएन। आगो निभाउन साढे दुई घण्टाभन्दा बढी समय लागेको प्रहरीको भनाइ छ।

“मैले आफ्नो सेवाकालमा यस्तो अनौठो घटना पहिलो पटक देखेँ,” एसपी प्रसाईंले भने, “तर यो घटनाबाट नयाँ सिक्ने अवसर पनि मिल्यो।”

उनका अनुसार विज्ञहरूले दूध आउने प्रजातिका रुखहरूमा चट्याङ पर्दा लामो समयसम्म आगो बल्ने सम्भावना रहने बताएका छन्।

घटनामा कुनै मानवीय क्षति नभएको र थप क्षति हुन नदिइएको मेयर टोकबहादुर वाइबाले जानकारी दिए।

तस्वीर/भिडियो: सशस्त्र प्रहरी बल १५ नम्बर गण, पाँचखाल

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?