३ जेठ, कञ्चनपुर। उमेरले सिकाइको ढोका बन्द गर्दैन भन्ने उदाहरण बनेकी छन् कञ्चनपुर लालझाडी गाउँपालिका–४ पर्सीयाकी वडासदस्य डल्लीदेवी चौधरी। ५२ वर्षको उमेरमा उनले गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भई अध्ययन सुरू गरेकी हुन्।
डल्लीदेवी गाउँपालिकाको वडा सदस्यमात्र होइनन्, उनी विद्यालय व्यवस्थापन समितिकी सदस्य पनि हुन्। “सानैदेखि पढ्न मन थियो,” उनले भनिन्, “तर समयले साथ दिएन। आज प्रतिनिधिहरू हस्ताक्षर गर्छन्, मचाहिँ औँठा लगाउँछु, मनभित्रै हीनता हुन्छ।”
शिक्षकहरूको हौसला र आत्मसम्मानको खोजीले उनलाई विद्यालयतिर डोर्यायो। विद्यालय समितिको बैठकमा सहभागी हुँदा आफू नपढेको महसुसले उनलाई गहिरो सोचमा पार्यो। “उमेरले रोक्दैन, तपाईं पनि पढ्न सक्नुहुन्छ” भन्ने शिक्षकहरूको प्रोत्साहनपछि उनले किताब बोकेर विद्यालय जान थालिन्।
घरायसी र वडाको कामले कक्षामा नियमित उपस्थित हुन नसके पनि घरमै नातिनीहरूबाट पढ्न थालेको डल्लीदेवीले सुनाइन्। कहिलेकाहीँ समय मिलेमा विद्यालय पुगेर कक्षामा पनि बस्छिन्।
बाल्यकालमा अनौपचारिक कक्षाबाट क, ख र १, २ पढेकी थिइन्। तर निरन्तरता दिन नसक्दा पढ्न लेख्न असमर्थ भइन्। “बुबा कमैया थिए, पढ्ने कुरामा ध्यान दिएनन्,” उनी भन्छिन्, “बिहे १३ वर्षमै भयो, त्यसपछि गृहस्थीको चक्रमा पढाइ टाढा रह्यो।”
छोराछोरीलाई भने पढाउने प्रयास गरेकी डल्लीदेवीले छोरीलाई सीपमूलक तालिम (सिलाइकटाइ) सिकाएर आत्मनिर्भर बनाएकी छन् भने छोरालाई इन्टरनेट जडान तालिम दिएर स्वरोजगार बनाएको बताउँछिन्।
पहिलो कार्यकालमा वडासदस्य हुँदा सार्वजनिक रूपमा बोल्न गाह्रो हुन्थ्यो भन्ने उनी अहिले दोस्रो कार्यकालमा छिन् र गाउँको सामाजिक, विकास कार्यमा खुलेर सहभागी भइरहेकी छन्।
“अब पढ्न लेख्न पनि आउनुपर्छ,” उनले भनिन्, “गाउँसभा र बैठकमा जनताको आवाज उठाउन सक्ने बन्नु छ, त्यसैले पढ्ने अठोट लिएकी हुँ।”
विद्यालय प्रमुख जगन्नाथ भट्टका अनुसार, चौधरीको इच्छाअनुसार कक्षा १ मा भर्ना गराई पुस्तकहरू उपलब्ध गराइएको छ। “उहाँलाई वर्णविन्यास, बाह्राखरी र दुना सिकाउँदै लेख्नपढ्नमा दक्ष बनाउने योजना छ,” उनले भने।
डल्लीदेवीको पढ्ने अठोटले गाउँमा सकारात्मक सन्देश फैलिएको बताउँदै विद्यालय र समुदायका सबै सदस्यले उनलाई हौसला दिइरहेका छन्।