दक्षिण कोरियामा राजेश सुवेदीको उपन्यास ‘अभिसार’ विमोचित

१ महिना अगाडी न्युज डेस्क

दक्षिण कोरियामा राजेश सुवेदीको उपन्यास ‘अभिसार’ विमोचित

बार्सिलोना । नेपाली लेखक राजेश सुवेदीद्वारा लिखित पहिलो उपन्यास ‘अभिसार’ को लोकार्पण दक्षिण कोरियाको सुवन सहरमा सम्पन्न भएको छ। इन्डिगो इन्क प्रकाशनद्वारा प्रकाशित यो कृति अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) कोरिया च्याप्टर र नेपाल मुक्तक प्रतिष्ठान कोरियाको संयुक्त आयोजनामा आइतबार आयोजित विशेष समारोहका बीच सार्वजनिक गरिएको हो।

कार्यक्रममा कोरियामा रहेका नेपाली साहित्यकार, लेखक, बुद्धिजीवी तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथिका रूपमा अनेसास कोरियाका संरक्षक तथा एसिया क्षेत्रीय महासचिव ह्यारी बोन्ड सहभागी थिए।

सुवेदीको ‘अभिसार’ भरतमुनिको नाट्यशास्त्र मा उल्लिखित सप्तनायिकामध्ये ‘अभिसारिका’ पात्रबाट प्रेरित छ, जसले प्रेमीलाई भेट्नका लागि गरेको साहसिक यात्रालाई चित्रण गर्छ। उपन्यास प्रेम, प्रतीक्षा, संघर्ष र बलिदानका गहिरा पक्ष समेटिएको भावनात्मक आख्यान हो।

कार्यक्रममा समीक्षक आरएन अधिकारीले उपन्यासको संरचना, भाषा, समाजशास्त्र, मनोविज्ञान र दार्शनिक पक्षमाथि गहिरो विश्लेषण प्रस्तुत गरे।

लेखक सुवेदीले कार्यक्रममा बोल्दै लेखन यात्राबारे अनुभव सुनाउँदै भने, “मुख्य पात्रसँगको लैङ्गिक भिन्नता र त्यो उमेर समूहका युवतीहरूको मनोविज्ञान बुझ्न गाह्रो भए पनि त्यसले नै लेखनलाई थप चुनौतीपूर्ण र समृद्ध बनायो।”

अंग्रेजी साहित्यमा स्नातकोत्तर अध्ययन गरेका सुवेदी लामो समयदेखि कथा, निबन्ध र साहित्यिक लेखनमा सक्रिय छन्। उनले उपन्यासको कभर चित्रबारे उल्लेख गर्दै भने, “शृङ्गारिक मुद्रामा हात फैलाएकी नायिका स्वतन्त्रता, प्रेम र यात्राको प्रतीक हुन्, र निलो पृष्ठभूमिमा उडिरहेका चराहरूले अझ गहिरो अर्थ बोकेका छन्।”

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?