नोरा फतेहीको काठमाडौंमा दमदार प्रस्तुति (फोटोसहित)

१ महिना अगाडी न्युज डेस्क

नोरा फतेहीको काठमाडौंमा दमदार प्रस्तुति (फोटोसहित)

काठमाडौं – चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार साँझ काठमाडौंमा भव्य प्रस्तुति दिएकी छन्। बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्ना हिट गीतहरूमा धमाकेदार नृत्य गरेकी हुन्।

‘स्नेक’लगायतका लोकप्रिय बलिउड ट्रयाकमा कोरससहित प्रस्तुति दिँदा हायातको चौरमा जम्मा भएका हजारौं दर्शक मन्त्रमुग्ध बनेका थिए। कार्यक्रमको माहोल झनै उत्साहजनक बनाउन स्टेज डिजाइन, लाइटिङ र साउण्ड सिस्टम प्रभावशाली बनाइएको थियो।

यो च्यारिटी शो ‘ह्युमन रेस्पेक्ट नेपाल’ नामक सामाजिक संस्थाको सहयोगार्थ आयोजना गरिएको हो। उक्त संस्था शिक्षाबाट वञ्चित बालबालिकाका लागि काम गर्दै आएको छ।

नोरा फतेही शनिबार बिहान २ बजे काठमाडौं आएकी थिइन् भने आइतबार फर्कने कार्यक्रम रहेको आयोजक वर्ल्डवाइड फिल्म्सले जनाएको छ।

कार्यक्रममा नेपाली कलाकारहरूको पनि आकर्षक प्रस्तुति थियो। दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा, साथै ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट पाँच प्रतियोगी प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र इन्द्रकला राईले आफ्नो कला प्रस्तुत गरेका थिए।

(तस्वीरहरू: आर्यन धिमाल / अनलाइनखबर)


तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?