नील-परीको प्रेम: चराको आँखाबाट देखिएको तालको कथा

१ महिना अगाडी न्युज डेस्क

नील-परीको प्रेम: चराको आँखाबाट देखिएको तालको कथा

“आहा! स्वर्ग पो रहेछ। कति थरीका चराहरू हुन्? तालमा चरा बसेको हेर्दा त आकाशको इन्द्रेनी भुईंमा झरे जस्तो!” डिलमा उभिएका पर्यटकहरू एकआपसमा मन्त्रमुग्ध हुँदै थिए।

नेपाली तराईको हृदयमा अवस्थित कपिलवस्तुको जगदीशपुर ताल—५० वर्षअघि हाँस डुलाउन बनाइएको यो मानव निर्मित ताल आज जैविक विविधताको प्रतीक हो। झण्डै १६० हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल रामसार सञ्जालमा सूचीकृत छ। यसले रैथाने तथा प्रवासी चराहरूलाई आश्रय दिने सिमसारको भूमिका निर्वाह गर्दै आएको छ।

तालको चारैतिर बकाइना, खयर, सिसौदेखि पारिजात, असारे फूलका रूखहरूले घेरेको ताल, सङ्लो पानी र समशीतोष्ण हावापानीले चराहरूको स्वर्गजस्तै बनाएको थियो। प्रत्येक वर्ष हजारौं किलोमिटर टाढाबाट चराहरू यहाँ आउँथे—जापानको कुरिल द्वीप, अलास्का, साइबेरिया हुँदै। तालमा उनीहरूको जलक्रीडा, चिरबिर आवाज र आकाशको रमाइलो उडानले पर्यटकहरूलाई मन्त्रमुग्ध बनाउँथ्यो।

प्रेमको कथा: नील र परी

यही तालमा जन्मिएका रैथाने हाँस नील र साइबेरियाबाट घुम्न आएकी परीबीचको प्रेम कथाले ताललाई झनै जीवित बनाएको थियो। उनीहरू नेपालका विभिन्न ताल र नदीमा सँगै रमाए—तिलिचो, रारा, कोशी टप्पु हुँदै रामारोशनसम्म। अन्ततः चराविधिअनुसार नील र परीको विवाह भयो।

तर उनीहरूको स्वप्निल संसारमा कालो बादल मडारिन थाल्यो।

जलवायु परिवर्तनको छायाँ

सगरमाथा पार गर्दै साइबेरियातर्फ उडेका चराहरूले बढ्दो तापक्रम, घट्दो हिमपात र बिग्रँदो हावापानी देखे। हिमालय क्षेत्रको हिउँ नपर्नु जलवायु परिवर्तनको संकेत हो, जसले सम्पूर्ण दक्षिण एशियालाई जल संकटतर्फ धकेलिरहेको छ।

संकटमा जीवन

नेपाल फर्किएपछि पनि नील र परीले सुरक्षित आश्रय पाएनन्। जगदीशपुर तालमा अब डुङ्गा गुड्न थालेका छन्। पर्यटकको हुल, स्थानीयको अतिक्रमण र चराको सिकारले ताल असुरक्षित बन्न थालेको छ। किसानहरू सिंचाइको नाममा बाँध भत्काउन तम्सिए। तालबाट पानी लैजाने सहमति भए पनि चराहरूको लागि सुरक्षित बसोबास संकटमा पर्न थाल्यो।

शिकारीहरूले चराहरूको ज्यान लिने क्रम बढ्यो। नीलका बाबु कृष्ण सिकारको शिकार भए। चराहरूमा त्रास फैलियो। अस्तित्व जोगाउन उनीहरू रूख र झाडीमा लुके। ताल सुनसान हुँदै गयो।

चराको सन्देश

“मानिसहरूले हाम्रो स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेका छन्,” नील र परीले दुनियाभरका जलपक्षीहरूलाई सन्देश पठाए। तर मानिसहरूलाई त्यो ‘रबैया’ मन परेन। अन्ततः चराहरूले ताल छोड्ने विकल्प रोज्न थाले।

जगदीशपुर ताल अब संकटमा छ—चराहरूको लागि पनि, पर्यावरणको लागि पनि। यो केवल स्थानीय विवाद होइन, यो जैविक विविधताको रक्षा र हाम्रो साझा भविष्यको प्रश्न हो।

अन्त्य होइन चेतावनी

तालमा अझै सम्भावना बाँकी छ—तर त्यसका लागि हामीले ताललाई जीवनको रूपमा हेर्नुपर्नेछ, केवल पानीको स्रोत होइन। चराहरू बाँच्न पाउनेछन् भने मात्र हामीले पनि सुरक्षित भविष्य कल्पना गर्न सक्नेछौं।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?