सादा जीवन, महान सोच: विश्वका सबैभन्दा ‘गरिब’ राष्ट्रपतिको कथा

१ महिना अगाडी न्युज डेस्क

सादा जीवन, महान सोच: विश्वका सबैभन्दा ‘गरिब’ राष्ट्रपतिको कथा

होसे मुहिका, उरुग्वेका पूर्वराष्ट्रपति, सन् २०१० देखि २०१५ सम्म दक्षिण अमेरिकी राष्ट्र उरुग्वेको नेतृत्वमा थिए। ८९ वर्षको उमेरमा मंगलबार उनको निधन भयो।

तर उनको नाम इतिहासमा केवल एक राष्ट्रप्रमुखको रूपमा होइन, एक यस्तो व्यक्तित्वको रूपमा दर्ज छ जसले शक्ति, पद, र सम्पत्तिभन्दा मानवीयता, सादगी, र न्यायलाई रोजे।

‘गरिब राष्ट्रपति’ को उपनाम किन ?

मुहिकालाई विश्वभर ‘सबैभन्दा गरिब राष्ट्रपति’को रूपमा चिनिन्छ। उनले आफ्नो अधिकांश तलब गरिबी निवारण र सामाजिक सेवामा दान गर्थे। राष्ट्रपतिको सुविधासम्पन्न भवनमा बस्न अस्वीकार गर्दै उनले राजधानी बाहिरको आफ्नै पुरानो घरमा बस्न रोजे — जहाँ बिजुली, पानी जस्ता सुविधा पनि सीमित थिए।

क्रान्तिबाट नेतृत्वसम्मको यात्रा

उनको राजनीतिक यात्रा असामान्य थियो। उनी सन् १९६०–७० को दशकमा सामाजिक अन्यायविरुद्ध लड्ने टुपामारोस गुरिल्ला समूहका सदस्य थिए। सन् १९७३ को सैनिक ‘कु’ पछि उनलाई पक्राउ गरी १४ वर्ष जेलमा राखियो — त्यो पनि एकान्तवास र अत्यधिक यातनासहित।
यिनै कठोर अनुभवहरूले उनको जीवनदर्शन निर्माण गरे — सत्ता हातमा आएपछि पनि उनले भोग र विलासिताको जीवनलाई अस्वीकार गरे।

साधारण जीवनशैलीको अद्भुत उदाहरण

राष्ट्रपति हुँदा समेत उनी पुरानो १९८७ को फक्सवागन बीटल गाडी चढ्थे। उनले आफ्नी पत्नी लुसिया टोपोलान्स्कीसँग सानो फार्म हाउसमा सादा जीवन बिताए। खाना पकाउने ग्यास, कुवाको पानी र आफैंले उब्जाएका तरकारी उनको जीवनको हिस्सा थिए।

स्वस्थ, जैविक खानाको प्राथमिकता

मुहिकाको भोजन शुद्ध, साधा र स्थानीय थियो। आफ्नै बगैंचाबाट आएको सागसब्जी, फलफूल, साबुत अन्न र सीमित मात्रामा मासुको सेवन — यही थियो उनको खानपान।
उनी जङ्क फुड र प्रशोधित पदार्थबाट टाढा रहन्थे। उनले खानालाई केवल शारीरिक आवश्यकतामात्र नभई सामाजिक र सांस्कृतिक चेतनाको माध्यम माने।

लवाइखवाइ: न्यूनतम तर अर्थपूर्ण

उनको पोसाक सधैं सरल हुन्थ्यो — सादा सर्ट, पुरानो पाइन्ट, र एकै जोडी जुत्ता। राष्ट्रपति हुँदा पनि उनले डिजाइनर कपडा वा महँगा ब्रान्ड कहिल्यै प्रयोग गरेनन्।
उनको विचारमा “मानिसको मूल्य उसले लगाएको कपडाले होइन, उसले गरेको कामले निर्धारण हुन्छ।”

प्रकृति, किताब र सङ्गीतप्रेमी नेता

मुहिकालाई फूल रोप्ने, बगैंचामा समय बिताउने, र प्रकृतिसँग एकाकार हुने सौख थियो। जेलमा रहँदा उनले असंख्य पुस्तक पढे — दर्शन, साहित्य र इतिहासका।
उनी ल्याटिन अमेरिकी लेखक एडुआर्डो गालियानो र ग्याब्रियल गार्सिया माक्र्वेजका प्रशंसक थिए। सङ्गीतप्रति पनि रुचि थियो, विशेषगरी लोकधुन र परम्परागत गीतहरूमा।

दार्शनिक सोच र विश्व सन्देश

मुहिकाले उपभोक्तावाद र भौतिकतावादको आलोचना गर्थे।
उनले एक अन्तर्वार्तामा भनेका थिए —
“जब तिमी धेरै किन्छौ, तिमी वास्तवमा आफ्नो समय बेचिरहेका हुन्छौ।”
उनको विचारमा साँचो सुख भनेको स्वतन्त्रता, समय र सामाजिक सम्बन्धमा निहित हुन्छ।

उनको जीवनशैलीले दिगो विकास, सामाजिक न्याय, र प्रकृति संरक्षण जस्ता मुद्दाहरूलाई व्यवहारिक उदाहरणद्वारा उजागर गर्छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?