४ जेठ, काठमाडौं ।
क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ। क्लबको इतिहासमा यो पहिलो प्रमुख उपाधि हो, जसले दक्षिण लन्डनस्थित क्लबका समर्थकहरूमा ठूलो उत्साह ल्याएको छ।
खेलको १६औँ मिनेटमा घरेलु खेलाडी एबरेची एजेले उत्कृष्ट भलीमार्फत गोल गर्दै प्यालेसलाई अग्रता दिलाए। त्यस गोलले नै अन्ततः निर्णायक रूप लिँदै प्यालेसलाई ऐतिहासिक जित दिलायो।
३६औं मिनेटमा सिटीले बराबरीको अवसर पाए पनि ओमार मार्माउशलले पेनाल्टी मिस गरे। पूर्व म्यानचेस्टर युनाइटेडका गोलकिपर डिन हेन्डरसनले उक्त पेनाल्टी बचाए मात्र होइन, सम्पूर्ण खेलभर उत्कृष्ट प्रदर्शन गर्दै सिटीलाई गोलरहित नै राखे।
सिटीले बराबरी गोलको लागि धेरै प्रयास गरे पनि प्यालेसको संगठित रक्षा र हेन्डरसनको योगदानका कारण सफल हुन सकेन। दोस्रो हाफमा प्यालेसका मुनोजले गोल गरे पनि भिएआरले अफसाइड ठहर गर्दै मान्यता दिएन।
यो जितसँगै क्रिस्टल प्यालेसले आफ्नो ११८ वर्ष लामो इतिहासमा पहिलो पटक कुनै प्रमुख घरेलु ट्रफी उचाल्न सफल भयो। यस ऐतिहासिक उपलब्धिले क्लब र समर्थकहरूका लागि अविस्मरणीय क्षण निर्माण गरेको छ।