४ जेठ, काठमाडौं । काभ्रेको धुलिखेलमा विद्युतको खम्बामा काम गर्दै गर्दा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको घटनाले आइतबार प्रतिनिधिसभामा गम्भीर छलफल उत्पन्न गराएको छ।
घटनामा परि ज्यान गुमाउने व्यक्ति सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारीबथाका २८ वर्षीय उपेश परियार हुन्। उनी धुलिखेल नगरपालिका–७, जिल्ला प्रशासन कार्यालयअगाडिको विद्युत् खम्बामा कार्यरत थिए।
विद्युतको काम गर्दै गर्दा अचानक करेन्ट लागेर मृत्यु भएको भन्दै विभिन्न दलका सांसदहरूले यसलाई विद्युत प्राधिकरणको लापरबाहीका रूपमा उठाए।
माओवादी केन्द्रका सांसद सूर्यमान दोङले संसदमा बोल्दै भने, ‘बिजुली बन्द गरिएको जानकारी दिइएको थियो, तर अर्को सूचना नदिई अचानक सप्लाइ खोल्दा मजदुरको ज्यान गयो। यो स्पष्ट लापरबाही हो, यसको सत्यतथ्य छानबिन हुनुपर्छ।’
रास्वपाका सांसद शिव नेपालीले पनि यस्ता घटनामा नियमितता देखिएको भन्दै राज्य संयन्त्रको कमजोरीलाई दोष दिए। उनले भने, ‘सुरक्षाका उपकरणबिना पोलमा चढाइन्छ, जानकारीबिना करेन्ट दिइन्छ — यो निर्दोष नागरिकको ज्यान लिने गम्भीर लापरबाही हो। मृतकका परिवारलाई राहत दिनु र जिम्मेवारमाथि कारबाही गर्नु सरकारको दायित्व हो।’
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही अझ कडा अडानमा देखिए। उनले भने, ‘सभामुखज्यू, यो दुर्घटना होइन — हत्या हो। जब खम्बामा मानिस चढिरहेको अवस्थामा सूचना नदिई बिजुली प्रवाह गरिन्छ, त्यो हत्या नै हो। यसमा जानमुद्दामा मुद्दा चल्नुपर्छ।’
सांसदहरूले विद्युत प्राधिकरणको गैरजिम्मेवारीपूर्ण कार्यशैलीमा सुधार, पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै तत्काल छानबिन समिति गठन गर्न पनि आग्रह गरेका छन्।