करोडौं असुल गर्न उपसभामुख हटाउने तयारी भइरहेको छ’ – सांसद सिंह

१ महिना अगाडी न्युज डेस्क

करोडौं असुल गर्न उपसभामुख हटाउने तयारी भइरहेको छ’ – सांसद सिंह

४ जेठ, काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले सत्तारुढ नेपाली कांग्रेसमाथि करोडौं रुपैयाँ उठाउने स्वार्थसहित उपसभामुख हटाउने तयारी गरेको आरोप लगाएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले कांग्रेसले जेठ महिनाभित्रै उपसभामुख सरिता गिरीलाई हटाएर आफ्नो निकट व्यक्तिलाई नियुक्त गर्ने प्रयास गरिरहेको दाबी गरे।

उनले उपसभामुख हटाउने रणनीति संवैधानिक निकायहरूमा आर्थिक स्वार्थका आधारमा मनोनयन गर्न खोजिएको भन्दै आलोचना गरे।

“पूर्वसचिवहरूलाई भनिदिन चाहन्छु—१०/१५ करोड रुपैयाँ लिएर तयार बस्नूस्, पैसा बुझाउनेलाई नियुक्ति हुनेछ,” सांसद सिंहले भने, “कांग्रेसलाई पैसाबाहेक केही चाहिएको छैन। आगामी चुनावका लागि यही माध्यमबाट पैसा उठाउन लागिएको हो।”

उनले कांग्रेसले संवैधानिक परिषद् र त्यसअन्तर्गतका निकायहरूमा नियुक्ति गर्न ‘पैसावाला’ मान्छे खोजिरहेको आरोप पनि लगाए।

जनजाति, महिला, मधेशीप्रति विभेदको आरोप

सांसद सिंहले कांग्रेसमाथि आदिवासी जनजाति, महिला र मधेशीहरूप्रति विभेद गरेको आरोप पनि लगाए।

“लोडसेडिङको बहानामा कुलमान घिसिङ र कान्छाराम तामाङजस्ता जनजातिका दक्ष व्यक्तिहरूलाई हटाइयो,” उनले भने, “सचिव बन्ने योग्यता पुगेकी एक महिलालाई पनि कांग्रेसले मन्त्रालयमा रोक्यो।”

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएको र उनको पक्षमा उभिएका तत्कालीन ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरिएको प्रसंगसमेत उनले उठाए।

२०८४ को चुनावमा कांग्रेसलाई ‘डाँडा कटाउने’ आह्वान

कांग्रेसका पूर्वनेता समेत रहेका सिंहले कांग्रेसप्रति असन्तुष्टि जनाउँदै आदिवासी, मधेशी, थारु र महिलाहरूलाई आगामी निर्वाचनमा कांग्रेसलाई मत नदिन आह्वान गरे।

“कांग्रेसलाई आदिवासी, जनजाति, महिला, मधेशी कोही चाहिएको छैन,” उनले भने, “२०८४ सालको निर्वाचनमा कांग्रेसलाई २०६४ सालजस्तै डाँडा कटाउनुहोस्।”

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?