मधेशका बालबालिकाले सिके संसद चलाउने अभ्यास

१ महिना अगाडी न्युज डेस्क

मधेशका बालबालिकाले सिके संसद चलाउने अभ्यास

५ जेठ, जनकपुरधाम — संघीयताप्रति सकारात्मक सोचको विकास र नेतृत्व क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशका २४ जना बालबालिकालाई नमूना बाल संसद अभ्यास गराइएको छ।

सेभ द चिल्ड्रेनको सहकार्यमा आसमान नेपालद्वारा आयोजित कार्यक्रममा मधेशका आठवटै जिल्लाबाट बाल क्लबमा आबद्ध १५ देखि १८ वर्ष उमेर समूहका तीन–तीन जना बालबालिकाले सहभागिता जनाएका थिए। तीनदिने अभ्यास महोत्तरीको बर्दिबासस्थित एक होटलमा सम्पन्न भएको थियो।

कार्यक्रमका संयोजक अरविन्द यादवका अनुसार बालबालिकालाई संघीय शासन प्रणालीको समझदारी दिनु, संघीयताप्रति व्याप्त भ्रम हटाउनु, राजनीति, सरकार र नेतृत्वप्रति सचेत गराउनु र बाल अधिकारको सवालमा सशक्त बनाउनु यस अभ्यासको मुख्य उद्देश्य हो।

अभ्यासका क्रममा प्रशिक्षक रक्की प्रसाद साहले संसद सञ्चालन प्रक्रिया, नियमावली र भूमिकाबारे प्रशिक्षण दिएका थिए। सहभागीहरुले संसदको अध्यक्ष, सदस्य, मन्त्री, प्रतिपक्षी लगायत विभिन्न भूमिकामा अभिनय गर्दै कार्यविधि अनुसार संसद चलाउने अभ्यास गरेका थिए।

कार्यक्रमको समापन आइतबार नेकपा एमालेकी प्रदेश सांसद तथा बाल अधिकारका लागि संसदीय मञ्च मधेश प्रदेशकी अध्यक्ष शारदा देवी थापाले गरिन्। समापन समारोहमा आसमान नेपालको कोषाध्यक्ष रेखा साहको अध्यक्षता रहेको थियो।

समारोहमा सहभागी बालबालिकालाई प्रमाणपत्र वितरण गरिएको थियो।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?