एमाले भुल्को र लुटपाटको जमात होइन’ : प्रधानमन्त्रीको प्रष्टोक्ति

१ महिना अगाडी न्युज डेस्क

एमाले भुल्को र लुटपाटको जमात होइन’ : प्रधानमन्त्रीको प्रष्टोक्ति

काठमाडौँ, ५ जेठ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र यसको आन्दोलन कुनै एकदिने आवेग (भुल्को) नभएको बताएका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ महाधिवेशनलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले आन्दोलनबाट खारिएर आएको पार्टी भएको बताए। “हामी अराजकतावादलाई सधैंका लागि शत्रु मान्छौँ,” उनले भने।

प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर पार्टी र सरकारको काम अघि बढिरहेको दाबी गरे। “सामाजिक सञ्जाल र डिजिटल माध्यम प्रयोग गरेर देशको भलो नचाहने, शान्ति सुरक्षामा बाधा पुर्‍याउने र विकास रोक्न खोज्ने अराजक र प्रतिगामी तत्वहरू हामीविरुद्ध सक्रिय छन्,” उनले भने, “हामीले बुझेर तीव्र रूपमा प्रतिवाद गर्नुपर्छ। अहिले पर्याप्त जुधाइ छैन, जसले जनतामा भ्रम र शिथिलता निम्त्याउने खतरा छ।”

प्रधानमन्त्री ओलीले एमालेलाई चट्के नाराबाट सञ्चालित जमात नभनी प्रष्ट पारे। “एमाले एक दिनको भुल्को होइन। चट्के कुरा गरेर हाँसो ठट्टा गर्ने जमात होइन। यो न त हजार रुपैयाँ गोजीमा हालेर ल्याएको, न त लुटपाट गरेर बनाइएको जमात हो,” उनले भने।

उनले एमाले सशक्त ढङ्गले अघि बढेमा ‘मिसन ८४’ अन्तर्गत पार्टीलाई पराजित गर्न कसैले नसक्ने दाबीसमेत गरे।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?