कोरियाले इपिएस कोटा घटाउँदा नेपाली कामदारमा कस्तो असर पर्छ?

१ महिना अगाडी न्युज डेस्क

कोरियाले इपिएस कोटा घटाउँदा नेपाली कामदारमा कस्तो असर पर्छ?

काठमाडौँ । नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाले सन् २०२५ का लागि आप्रवासी श्रमिक कोटा घटाउने निर्णय गरेको छ। कोरियाले आगामी वर्ष रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत एक लाख ३० हजार आप्रवासी कामदार भित्र्याउने नीति लिएको छ, जुन गत वर्षको तुलनामा ३५ हजार कम हो।

सन् २०२४ मा इपिएस अन्तर्गत एक लाख ६५ हजार श्रमिक भित्र्याइएको थियो। तर हाल कोरियामा देखिएको आर्थिक मन्दी र निजी क्षेत्रमा श्रमिकको माग घटेसँगै कोटामा कटौती गरिएको हो।

परीक्षार्थी युवामा निराशा

कोटामा आएको कटौतीसँगै नेपाली युवाहरूमा निराशा बढेको छ। विशेष गरी इपिएस भाषा परीक्षा पास गरी रोस्टरमा नाम परेका धेरै युवाले लामो समयसम्म भिसा नपाएको गुनासो गर्दै आएका छन्। कतिपयले भिसा प्रक्रियामा भएको ढिलाइका कारण सरकारविरुद्ध प्रदर्शनसमेत गरिरहेका छन्।

यसैबीच, सन् २०२५ को भाषा परीक्षा कहिले हुने भन्नेबारे अझै स्पष्टता आएको छैन। धेरै युवा भाषा कक्षा लिएर परीक्षा दिन प्रतीक्षारत छन्। इपिएस शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठका अनुसार मानव संसाधन विभाग (एचआरडी) को सम्पर्क कार्यालयसँग समन्वय भइरहेको छ। “परीक्षा हुने पक्का भए पनि मिति भने तय भएको छैन,” उनले जानकारी दिए।

आन्दोलनकै असर?

कतिपयले इपिएस परीक्षासम्बन्धी हुने आन्दोलन, घेराउ र हुलदंगाका कारण पनि कोरियाली पक्ष सतर्क भएको अनुमान गरिरहेका छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार, कोरियाले नेपाल मात्र नभई अन्य देशहरूको कोटासमेत घटाएको हो। “निजी क्षेत्रको माग नभएसम्म सरकारले पनि थप श्रमिक लैजान सक्दैन,” उनले स्पष्ट पारे।

विभागका उपमहानिर्देशक चन्द्रप्रसाद सिवाकोटीका अनुसार भने आन्दोलन र झगडाले पनि असर पार्न सक्छ। “कोरियाली पक्ष सबै गतिविधि नियालिरहेको हुन्छ। यस्ता हुलदंगा दोहोरिरहे कोटामा असर पर्न सक्छ,” उनले चेतावनी दिए।

नेपाली श्रमिकप्रति विश्वास कायमै

कोरियाले इपिएस प्रणालीमार्फत १७ देशबाट श्रमिक लैजाँदै आएको छ। श्रम इमानदारिता र कार्य क्षमताका आधारमा नेपाल दोस्रो सबैभन्दा बढी श्रमिक आपूर्ति गर्ने देशका रूपमा रहेको अधिकारीहरूको भनाइ छ।

सन् २००८ देखि इपिएस प्रणाली लागू भएपछि हालसम्म झन्डै १ लाख २० हजार नेपाली युवा कोरियामा रोजगारीमा गइसकेका छन्। हाल उत्पादनमूलक, कृषि, र पानीजहाज निर्माण क्षेत्रसम्म नेपाली श्रमिकको उपस्थिति रहेको छ। सन् २०२५ को वैशाखसम्म मात्रै ९,२२९ नेपाली श्रमिक कोरिया पुगेका छन्।

इपिएसमार्फत कोरियामा गएका नेपाली श्रमिक विवरण

वर्ष गएकाको संख्या
२००८ २८१४
२००९ १९११
२०१० २३३९
२०११ ३९८३
२०१२ ६३३२
२०१३ ५०४६
२०१४ ६०२८
२०१५ ५८६६
२०१६ ८०७९
२०१७ ७८००
२०१८ ८५११
२०१९ ७१३६
२०२० १०२७
२०२१ ३८७
२०२२ १४३११
२०२३ १९६९८
२०२४ ९२८५
२०२५ (वैशाखसम्म) ९२२९
जम्मा ११९७८२
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?