५ जेठ, काठमाडौं । आकर्षक तलबमा ग्रीस पठाइदिने भन्दै ८ लाख रुपैयाँ ठगी गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–७ का ७६ वर्षीय नरवीर राई रहेका छन्। उनलाई आइतबार काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरिएको हो।
राईले ग्रीस पठाइदिन्छु भन्दै एक जना व्यक्तिसँग ८ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरी परेको थियो। उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।