सडकको खाल्डोले लियो रितिक र रितेशको ज्यान, घटना ढाकछोपको प्रयास

१ महिना अगाडी न्युज डेस्क

सडकको खाल्डोले लियो रितिक र रितेशको ज्यान, घटना ढाकछोपको प्रयास

धनुषाको कमला नगरपालिका–२ स्थित सराबेटोलमा सडकमा खनिएको खाल्डोमा डुबेर दुई बालकको ज्यान गएको घटनाले गाउँ शोकमा डुबेको छ। गत मंगलबार दिउँसो निर्माणाधीन कृषि सडकको खाल्डोमा पानी जम्दा ७ वर्षीय रितिक साह र ५ वर्षीय रितेश साहको ज्यान गएको थियो। दुवै बालक रामहरिबाबु साह र उनका भाइ श्यामबाबु साहका छोराहरू थिए। घटना हुँदा उनीहरू मोबाइल हेर्दै घरमै थिए, तर इन्टरनेट नचलेपछि बाहिर निस्किएका थिए। केहीबेरमै उनीहरू डुबेको अवस्थामा फेला परे।

परिवारका सदस्यहरू र गाउँलेहरू अझै भावविह्वल छन्। हजुरआमा कोशिला बारम्बार नातिहरू सम्झेर भक्कानिन्छिन्। रितिक गाउँकै विद्यालयमा कक्षा २ मा पढ्थे भने रितेश केही दिनअघि मात्रै दिल्लीबाट फर्किएका थिए। दुवै बालकका आमाबाबु दिल्लीमा मजदुरी गर्दै थिए। अभिभावकको सपना आफ्नै गाउँको खाल्डोमा चकनाचुर भएको छ।

स्थानीयबासीका अनुसार बाटो बनाउने काम जथाभावी र सुरक्षाविहीन रूपमा भइरहेको थियो। ठेकेदार र वडाध्यक्षले जिम्मेवारी नलिएको र उल्टै घटना ढाकछोप गर्न खोजिएको आरोप लागेको छ। अनलाइनखबरको टोली पुग्दा केही स्थानीयले ‘मिलिसकेको’ भन्दै मिडियामा नलैजान आग्रह गरेका थिए। परिवारलाई केही आर्थिक राहतको प्रलोभनमा आवाज दबाउन खोजिएको देखिन्छ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन्। घटना भएको सडक खण्ड नगरपालिकाको १० लाख रुपैयाँको वडास्तरीय योजना अन्तर्गत निर्माण हुँदै थियो, जसको ठेक्का जयबाबा नर्सिङ् कन्स्ट्रक्सनले लिएको र काम स्थानीय राजेन्द्र मण्डलले गरिरहेका थिए। योजना हेर्ने जिम्मा नगरपालिकाका इन्जिनियर र ओभरसियरलाई दिइएको भए पनि न त वडाध्यक्ष न त इन्जिनियरले जिम्मेवारी स्वीकार्न तयार देखिएका छन्।

घटनाले गाउँमा सडक निर्माणका नाममा हुने लापरबाही र त्यसबाट निम्तने मानवीय क्षतिको गम्भीर चित्र प्रस्तुत गरेको छ। स्थानीयवासीले दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?