काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे बस्दैछ। बैठकका लागि चार प्रमुख कार्यसूची तय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दालाई राजनीतिक प्रतिशोध र झूटा आरोपको रूपमा लिँदै सर्वोच्च अदालतको आदेश तथा त्यसपछिका कानुनी र राजनीतिक प्रक्रिया बारे विस्तृत छलफल हुनेछ।
दोस्रो एजेन्डा अध्यागमन विभागमा भिजिट भिसाका नाममा भएको अवैध रकम असुलीसम्बन्धी विषय हो। यसबारे रास्वपाले शनिबार भर्चुअल बैठकमार्फत गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु र छानबिनमा सघाउनु पर्ने निष्कर्ष निकालिसकेको छ।
तेस्रो, बैठकमा पार्टीको आगामी कार्यदिशा र महाधिवेशनलक्षित क्यालेन्डरमाथि छलफल हुनेछ। वैशाखमा गर्ने भनिएको महाधिवेशन फागुनमा सारिएको र त्यसका लागि वडा तथा पालिका तहमा अधिवेशनलाई प्राथमिकता दिने तयारी भइरहेको छ।
चौथो एजेन्डाको रूपमा पार्टीको तेस्रो स्थापना दिवस (असार ७) का कार्यक्रमबारे पनि आजको बैठकमा छलफल हुने जनाइएको छ।