चितवनको खैरहनी नगरपालिका–१२ का हरि अर्यालले १३ वर्षअघि पाँच कठ्ठा जमिनमा माछापालन सुरु गरेका थिए। सुरुआती कठिनाइपछि उनले व्यवसायलाई विस्तार गर्दै अहिले चार बिघा जमिनमा ६ प्रजातिका माछा पालिरहेका छन्। वार्षिक एक करोड ५० लाख रुपैयाँभन्दा बढीको माछा बिक्री हुने फर्मबाट उनले झन्डै ७० लाख नाफा कमाउँछन्।
उनको फर्ममा वार्षिक दुई सय टन माछा उत्पादन हुन्छ। उत्पादन काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा बिक्री हुन्छ। उनले आफ्नो आम्दानीबाट घरजग्गा जोड्नुका साथै तीन छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाइरहेका छन्।
अर्यालले माछापालनमा आधुनिक प्रविधि प्रयोग गर्दै ६ जनालाई रोजगारी दिएका छन्। अब उनले माछा तथा कागती खेतीलाई एग्रो टुरिजमसँग जोड्ने योजना बनाएका छन्।
वैदेशिक रोजगारीबाट फर्किएका अर्यालले सुरुमा घाटा बेहोरे पनि अनुभवसँगै माछापालन सफल बनाएका हुन्। अहिले चितवनमा १५ सयभन्दा बढी किसान माछापालनमा लागेका छन्।
अर्याल माछा व्यवसायी संघ चितवनका उपाध्यक्षसमेत हुन्। उनले भारतबाट हुने अवैध माछा आयात रोक्न राज्यले ठोस कदम चाल्नुपर्ने माग गरेका छन्। राज्यले दाना र विद्युतमा सहुलियत दिन सके माछापालन अझ फस्टाउने उनको विश्वास छ।