भारत भित्रियो मनसुन, अब छिट्टै नेपालमा प्रवेश गर्ने अनुमान

१ महिना अगाडी न्युज डेस्क

भारत भित्रियो मनसुन, अब छिट्टै नेपालमा प्रवेश गर्ने अनुमान

११ जेठ, काठमाडौं । भारतमा सामान्यभन्दा एक हप्ता अगाडि नै मनसुन प्रवेश गरेसँगै नेपालमा पनि चाँडै मनसुन भित्रिने मौसमविद्हरूको अनुमान छ।

भारतको केरलामा जेठ १० (२४ मे) मा मनसुन प्रवेश गरिसकेको छ, जुन सामान्यतया जुन १ मा हुने गर्छ। नेपालमा भने मनसुन सामान्यतः जुन १३ मा प्रवेश गर्छ। तर यसपटक भारतमा १६ वर्षयताकै छिटो मनसुन प्रवेश गरेकाले नेपालमा पनि समयमै मनसुन सुरु हुने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालको भनाइ छ।

अर्यालका अनुसार बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आइरहेकाले अहिले नै नेपालमा कहिलेसम्म मनसुन प्रवेश गर्छ भन्ने भन्न नसकिने भए पनि ढिलो नहुने सम्भावना प्रबल छ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज पनि काठमाडौं उपत्यकासहित केही क्षेत्रमा पानी पर्ने सम्भावना छ।

नेपालमा मनसुन सामान्यतः जुन १३ मा भित्रिएर अक्टोबर २ मा सकिन्छ। यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा र गर्मी हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। यसले जनधनको क्षति निम्त्याउन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?