११ जेठ, काठमाडौं । सहकारी पीडितहरू आफ्ना बचत रकम फिर्ता गराउन माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शनमा उत्रिएका छन्। यसअघि महिलाहरूले नेतृत्व गरेका यस्ता प्रदर्शनमा आज पुरुषहरू पनि सहभागी भएका छन्।
पीडितहरूका अनुसार बारम्बार शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यले सुनुवाइ नगरेपछि सरकारलाई दवाब दिन आफूहरू अर्धनग्न प्रदर्शनमा उत्रन बाध्य भएका हुन्।
उनीहरूले सहकारी संस्थाहरूको सम्पत्ति लिलामी गरेर भए पनि आफ्ना बचत रकम फिर्ता गराउन माग गर्दै आएका छन्। प्रदर्शनमा सहभागीहरूले “नाङ्गो हुनु रहर होइन, बाध्यता हो” भन्ने सन्देश बोकेका थिए।
सहकारी पीडित बचतकर्ता महासंघले अघि सारेको प्रस्ताव तत्काल कार्यान्वयन गर्न, बिचौलियाको संलग्नतामा भएको जग्गा कारोबार रोकेर, राज्यले विशेष कोष खडा गरी पीडितको पैसा फिर्ता गर्नुपर्ने माग उनीहरूले गरेका छन्।
प्लेकार्डमार्फत ‘१० लाखको जग्गा ४० लाखमा जबर्जस्ती’, ‘धम्की, दलाली र अन्याय बन्द गर’, ‘सहकारी पीडितको माग तत्काल सुन’ भन्ने नारासहित उनीहरू सडकमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले आफ्नो माग पूरा नभए आन्दोलन अझ तीव्र बनाउने चेतावनी पनि दिएका छन्।