एमालेमा कलह ल्याउने ढकाल समूहको मानगढ खानेपानीमा पनि विजय

४ हप्ता अगाडी न्युज डेस्क

एमालेमा कलह ल्याउने ढकाल समूहको मानगढ खानेपानीमा पनि विजय

१२ जेठ, विराटनगर।
मानगढ खानेपानी आयोजनाको व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा नेकपा एमालेको विद्रोही समूहका उम्मेदवार लालमणि भट्टराई निर्वाचित भएका छन्।

संस्थाको नेतृत्वका लागि भएको निर्वाचनमा भट्टराईले एमालेको संस्थापन पक्षका उम्मेदवार रामबहादुर घिमिरे र नेपाली कांग्रेसका उम्मेदवार दुर्गा चापागाईंलाई पछि पार्दै विजय हासिल गरेका हुन्।
भट्टराईले १,८८९ मत प्राप्त गर्दा, वर्तमान अध्यक्षसमेत रहेका घिमिरेले १,१५४ मत र चापागाईंले ६३५ मत प्राप्त गरे।

कोशी प्रदेशमा एमालेभित्र विद्रोही धारको नेतृत्व विनोद ढकालले गरिरहेका छन्। कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने ढकाल अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नजिकको समूहतर्फ छन्।

गत वर्ष पनि मानगढ खानेपानीकै निर्वाचनले एमाले मोरङमा गम्भीर विवाद उत्पन्न गराएको थियो। पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उभिएको भन्दै संस्थापन पक्षले ढकाल समूहका सागर थापा, नवराज नेपाललालमणि भट्टराईमाथि कारबाही गरेको थियो।

२०८१ जेठ १९ गते भएको मतदान विवादित बनेपछि उच्च अदालत विराटनगरमा रिट दायर भए। अदालतले पुनः मतदान गर्न आदेश दिएपछि हालै निर्वाचन सम्पन्न भएको हो। नयाँ मतदानमा पनि ढकाल समूहको उम्मेदवार विजयी भएसँगै एमालेभित्रको आन्तरिक कलह फेरि सतहमा आएको छ।

यस विवादको असर मोरङ जिल्ला अधिवेशन र विराटनगर महानगर अधिवेशनसम्म देखिएको थियो।
गत फागुनमा सम्पन्न जिल्ला अधिवेशनमा ढकाल समूहको प्यानलले पार्टी पदाधिकारीमा जित हात पारेको थियो। अध्यक्षमा अजम्बर राई विजयी हुँदा संस्थापन पक्षका राजकुमार ओझा पराजित भएका थिए। त्यस्तै, कारबाहीमा परेका सागर थापा जिल्ला उपाध्यक्षमा निर्वाचित भएका थिए।

त्यसैगरी, वैशाख २ र ३ गते सम्पन्न विराटनगर महानगर अधिवेशनमा पनि ढकाल समूह बलियो देखिएको थियो। संस्थापन पक्षका रोहित कोइरालालाई पराजित गर्दै ढकाल पक्षका बलराम गिरी अध्यक्षमा विजयी भएका थिए।

एमाले मोरङ उपाध्यक्ष तथा पूर्वनगर अध्यक्ष सागर थापा भन्छन्, “एक वर्षअघि मानगढबाट सुरु भएको विवाद अन्ततः मानगढमै आएर टुंगिएको छ। यो नतिजाले सही ठाउँमा रहेको सन्देश दिएको छ।”

नेता विनोद ढकाल भने सार्वजनिक संघ-संस्थामा पार्टीको हस्तक्षेप स्वीकार्य नहुने बताउँछन्। “मानगढको नतिजाले सार्वजनिक संस्थामा राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने सन्देश दिएको छ,” उनले प्रतिक्रिया दिए।

शनिबार सम्पन्न पुनः मतदानमा कुल ५,९८८ मतदातामध्ये ३,९६४ मत खसेका थिए भने २,०२४ मतदाता अनुपस्थित रहे।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?