देवदह (रूपन्देही), १२ जेठ।
पहिला घरायसी काममै सीमित रूपन्देहीको देवदहकी महिलाहरू अहिले व्यावसायिक तरकारी खेतीमार्फत आत्मनिर्भर बन्दै गएका छन्। बिहान घरधन्दा सकेर दिउँसो फुर्सदमा बिताउने महिलाहरू आजकल तरकारी बारीमै व्यस्त छन्—आफ्नै खेतको उत्पादन बेचेर घरखर्च जुटाउँदै।
देवदह नगरपालिका–११, सिक्टहनको छोट्की गुम्बीका सोना मल्लाह पाँच कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएकी छन्। श्रीमान भारतमा रोजगारीमा भए पनि उनले लौका, सिमी, फर्सी, घिरौंला र काँक्रो जस्ता तरकारी लगाएर सिजनमा एक–डेढ लाख रूपैयाँ कमाउँछिन्।
“सिजनमा त दिनमै ३०–४० किलो तरकारी बजार पठाउँछु,” बारीमा बोडी टिप्दै उनले भनिन्।
छिमेकी शिवकुमारी मल्लाहले पनि ६ कट्ठा खेतमा बोडी, भिन्डी, फर्सी र काँक्रो लगाएकी छन्, जुन अहिले बजार पठाउने चरणमा पुगेको छ। विद्यावती मल्लाहले पाँच कट्ठा जमिनमा खेती गर्दै घरखर्च सजिलो भएको अनुभव सुनाइन्—“अब अरूसँग पैसा माग्नुपर्दैन, घरमै रोजेर ताजा तरकारी खान पाइन्छ।”
सिक्टहनको छोट्की गुम्बीमा सोना, शिवकुमारी र विद्यावती मात्र होइन, अधिकांश महिलाहरू व्यावसायिक खेतीमा लागेका छन्। बिहान घरका काम र छोराछोरीको हेरचाहपछि उनीहरू बारीमै तरकारी रोप्ने, स्याहार गर्ने र बजार पुर्याउने काममा जुट्छन्।
“कहिले व्यापारीहरू घरमै आइपुग्छन्, कहिले आफैं बजार पुर्याउँछौं। आफैं लैजाँदा बढी नाफा हुन्छ,” विद्यावतीको अनुभव छ।
श्रीराम मल्लाह (५६), चार दशकदेखि व्यावसायिक खेती गर्दै आएका किसान हुन्। उनका बाजेले धान–गहुँ फलाउँथे, बुवाले तरकारी खेती सुरु गरे। अहिले आठ कट्ठा जमिनमा करेला, टमाटर, बोडी, भिन्डी, लौका, सिमी लगायतका तरकारी फलाएका छन्।
“हाम्रो जिन्दगी नै तरकारी खेतीमा बित्यो। एकैचोटि धेरै आम्दानी नभए पनि हरेक दिन पैसा हातमा पर्छ,” उनले भने। तरकारी बेचेरै परिवारको सम्पूर्ण खर्च धानिएको उनले बताए।
छोट्की गुम्बी मात्रै होइन, वडा नम्बर ११ का बड्की गुम्बी, भुताहा, जयपुर, शंकरपुर, शान्तिटोल, कजनीपुर, मध्यपुर, रेहरा लगायतका १४ वटै टोलका किसान तरकारी खेतीतर्फ आकर्षित छन्।
वडाध्यक्ष दुधनाथ यादव भन्छन्, “वैशाख–जेठमा जहाँ अन्यत्र खेत बाँझो देखिन्छ, वडा नम्बर ११ हराभरा हुन्छ।” उनले आफ्नो वडाका किसानहरूको प्रमुख आम्दानी स्रोत तरकारी खेती र पशुपालन रहेको बताए।
यद्यपि किसानले दैनिक थोरै–थोरै तरकारी बजारमा लैजाने भएकाले यसबारे विस्तृत तथ्यांक भने संकलन गरिएको छैन।
वडाका वसन्त मल्लाह र टिहुल मल्लाह जस्ता अगुवा किसान हिउँदमा तरकारी बेचेर ५ लाख रूपैयाँसम्म आम्दानी गर्छन्। बर्खामा धान रोप्ने क्रम जारी रहन्छ।
देवदह नगरपालिका पशुपालन र तरकारी खेती प्रवर्द्धनमा पनि अग्रसर छ। नगरप्रमुख ध्रुव खरेलका अनुसार नगरपालिकाले किसान अभिमुखीकरण, बाली पकेट विकास, प्रविधिमा अनुदानजस्ता कार्यक्रममार्फत हाते ट्र्याक्टर, स्प्रे ट्यांकी, मोटर, पाइप, मल र उन्नत बिउमा सहुलियत दिँदै आएको छ।
सिँचाइ सुविधा, प्रविधिको पहुँच र उन्नत बीउको उपलब्धतासँगै देवदहका महिलाहरूको तरकारी खेतीले अझ व्यावसायिक स्वरूप लिँदै गएको छ—आर्थिक आत्मनिर्भरता तर्फको यात्रा अघि बढिरहेको छ।