सोलुखुम्बु — लामो समयपछि फाप्लु विमानस्थलबाट काठमाडौं नियमित हवाई सेवा पुनः सञ्चालनमा आएको छ। नेपाल एयरलाइन्सले अब सातामा चार दिन — सोमबार, बुधबार, शुक्रबार र शनिबार — फाप्लु–काठमाडौं उडान सञ्चालन गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार नेपाल एयरलाइन्सको जहाज मर्मत सम्पन्न भएसँगै सेवा पुनःसञ्चालन गरिएको हो। प्राविधिक खराबीका कारण महिनौंदेखि ग्राउन्डेड रहेको जहाज मर्मतपछिको परीक्षण उडान सफल भएपछि नियमित सेवा सुरु गरिएको प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यले जानकारी दिए।
नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार जहाज मर्मतका लागि थन्किएपछि गत पुसदेखि चैत्रसम्म फाप्लु–काठमाडौं हवाई सेवा पूर्ण रूपमा अवरुद्ध थियो।
स्थानीय व्यवसायी महेश अधिकारीले नियमित हवाई सेवा सुरु भएपछि यात्रुहरूलाई ठूलो राहत भएको बताए। उनका अनुसार हवाई सेवा ठप्प हुँदा बिपी राजमार्गको लामो, जोखिमपूर्ण र कष्टकर सडक मार्ग अपनाउनु पर्ने बाध्यता थियो।
‘अब हवाई यात्रा सहज र पहुँचयोग्य भएको छ,’ उनले भने, ‘तर यो सेवा निरन्तर र भरपर्दो हुनुपर्छ। केवल अस्थायी रूपमा होइन, दीर्घकालीनरूपमा चल्नुपर्छ।’
उनले अघिल्ला वर्षहरूमा जहाज नचलेको कारणले यात्रु, व्यापारी तथा आकस्मिक बिरामीहरूलाई ठूलो समस्या भएको स्मरण गरे।