लुम्बिनी प्रदेशको बजेट आइतबार प्रस्तुत हुँदै

१ हप्ता अगाडी न्युज डेस्क

लुम्बिनी प्रदेशको बजेट आइतबार प्रस्तुत हुँदै

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ।

आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘राजस्व र व्ययको वार्षिक अनुमान’ प्रदेश सभामा प्रस्तुत गर्ने  सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पनि सभामा पेस गर्ने छन्।

सरकारले यो वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ। विगतमा पनि लुम्बिनी सरकारले त्यसैमा जोड दिएको थियो।

कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याइने यसअघि नै बताइसकेका छन्।

प्रदेश सरकारको नीति तथा कार्यक्रमको निरन्तरतामा आधारित बजेटले प्रदेशवासीको जीवनस्तर उकास्ने विश्वास सरकार लिएको छ।

लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो। अहिलेको सरकारले आकारको तुलनामा बजेट घटाएर ल्याउने तयारी गरेको छ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आगामी वर्षको लागि ल्याइने बजेट चालु आर्थिक वर्षको भन्दा ३ अर्ब हाराहारी घटेको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?