नेपालीको लाइफलाइन सडक : मेरुदण्ड भाँचिएको ६ महिनासम्म छैन उपचार

२ मिनेटutes अगाडी न्युज डेस्क

नेपालीको लाइफलाइन सडक : मेरुदण्ड भाँचिएको ६ महिनासम्म छैन उपचार

१२ असार, बुटवल । सुनवल–६ नवलपरासीका प्रेमलाल रिमाल क्यान्सर अस्पताल चितवनमा उपचाररत छन् । अप्रेसनको तयारीमा रहेका रिमाललाई रगत चाहिएको छ ।

छिमेकी थीरलाल पराजुली उनलाई रगत दिन बुधबार बिहानै सुनवलबाट चितवनका लागि हिँड्छन् । तर बर्दघाट पुग्दा नपुग्दै बस रोकिन्छ ।

४ घण्टासम्म जाम खुल्दै । जाम खुल्ने ठेगान नहुँदा पराजुलीलाई छट्पटी हुन्छ । अनि आक्रोस पोख्छन्, ‘पञ्चायतकालमा राजा महेन्द्रले बनाएको सडकको हालत अहिलेसम्म यस्तो छ । सरकारलाई सत्ता जोगाउन बाहेक ध्यान छैन । कहिले सडक खुल्ने हो र बिरामी भेट्न पाइने हो ?’

सडकको सास्तीले उनी सरकारप्रति निकै रुष्ट भए र प्रधानमन्त्री तथा मन्त्रीविरुद्ध नाराबाजीमै उत्रिए । सडकमा रोकिएका ट्रक चालकहरुले उनलाई साथ दिँदै नारा भट्ट्याए । उनले व्यवस्था समेतलाई नै दोष दिए ।

नेपालगञ्ज–काठमाडौं चल्ने भे१ख ४३६० नम्बरको बस गत साता बुटवलबाट पाल्पा, स्याङजा, पोखरा, मुग्लिन हुँदै काठमाडौं पुग्यो । बुटवल, बर्दघाट दाउन्ने नियमित र छोटो रुट हुँदै काठमाडौं जानुपर्ने बस विनयी खोलाको डाइभर्सन बगेको र दाउन्नेको उकालोमा पानी पर्दा गुड्न नसक्ने डरले यसरी रुट परिवर्तन गर्न बाध्य भएको थियो ।

रुट परिवर्तन गरेर गाडी चलाउँदा यात्रु कम पाइने, सरकारले तोकेको भाडा नपाइने, डिजेलमा मात्रै एक पटकमा १५ हजारसम्म बढी खर्च हुने गाडीका मालिकसमेत रहेका चालक विकास बडुवालले बताए । आफू जस्तै धेरै बस यसरी नै रुट परिवर्तन गर्न बाध्य भएको उनले बताए ।

‘दुम्कीबासको डाइभर्सन बगेको र पानी पर्दा दाउन्नेमा गाडी गुडाउन नसकिने डरले १४ घण्टाको बाटो बदलेर २८–३० घण्टा लाग्ने पोखरा रुटमा हिँड्नुपरेको छ,’ बडुवालले भने, ‘१४ किलोमिटरको दुम्कीबास दाउन्नेमा पुल र सडक नबनेर नयाँ बाटोमा गाडी चलाउनुपर्दा सकस हुन्छ, यात्रु पनि पाइँदैन । भाडा बढ्न जाँदा यात्रुले पूरा भाडा दिन मान्दैनन्, डिजेल मात्रै १५ हजार बढी खर्च हुन्छ ।’

बडुवालले रेल र पानीजहाजका कुरा छाडेर पहिले राम्रो सडक बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए । ‘हामीलाई अहिले रेल र पानीजहाज चाहिएको हैन, गाडी गुड्ने राम्रो सडक चाहियो,’ उनले रुष्ट हुँदै भने, ‘सरकार वर्षभरि निदाउँछ, बर्खा लागेपछि बाटो खन्न तातेर हुन्छ ?’

भैरहवा–काठमाडौं रुटमा ट्रक चलाउँदै आएका कृष्णबहादुर श्रेष्ठ ८ असारमा भैरहवाबाट पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिम नवलपरासीको बर्दघाट पुगे । बर्दघाटमा प्रहरीले दुम्कीबासको डाइभर्सन बाढीले बगाएको भन्दै ट्रक त्यहीँ रोक्न भन्यो । त्यसयताको चौथो दिनसम्म श्रेष्ठ बर्दघाटको सडकमै दिन–रात बिताउन बाध्य छन् ।

ना५ख ७४११ नम्बरको ट्रक चालक श्रेष्ठले दुई दिनमा पुगिने रुटमा अहिले चार–पाँच दिन लाग्ने गरेको बताए । ‘चार दिनसम्म सडकको बास भयो, ल्याएको खर्च पनि सकियो, होटेलमा बसौं भने पैसा छैन । ट्रकमा सुत्दा गर्मीले सकिन्न, बाहिर लामखुट्टेले टोकेर सुत्न दिन्न । दिसा–पिसाब गर्न शौचालय समेत छैन, असाध्यै दुःख पाइयो,’ उनले आक्रोश पोखे ।

ना६ख ३२८४ नम्बरको ट्रकका चालक बुद्धिसागर न्यौपाने पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् । भैरहवाबाट काठमाडौं हिँडेका उनी चार दिनसम्म सडकमा रोकिनुपर्दा आफ्ना दुई चालक साथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमित भई अस्पताल भर्ना हुनुपरेको र आफूले सास्ती बेहोर्नुपरेकोमा राज्यसँग रुष्ट छन् ।

‘राज्यले ६ महिनासम्म डाइभर्सनको विकल्प दिन त सकेन नै, विनयी खोलापारिबाट होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्कीबास पुग्ने वैकल्पिक मार्ग चलाउन समेत नसक्दा यात्रु र चालकले दुःख पाए,’ न्यौपानेले भने, ‘राज्यले स्थानीयलाई चित्त बुझाएर त्यहाँ ग्राभेल गरिदिएको भए यसरी चार/पाँच सय ट्रक सडकमा रोकिनुपर्ने थिएन ।’

ना६ख ३६९९ नम्बरको ट्रकमा आलु र प्याज भरिएको छ । अरु २२ वटा आलु प्याज बोकेका  ट्रक पनि ४ दिनदेखि बर्दघाटमै रोकिएका छन् । चर्को गर्मीमा छिट्टै कुहिने वस्तु ट्रकमा भए पनि प्रहरीले जान नदिएको चालक सुवोध पासवानले गुनासो गरे ।

‘बसलाई जान दिएको छ तर ट्रकलाई चार दिनदेखि रोकेर राखिएिको छ । आलु र प्याज कुहिन लागिसक्यो,’ पासवानले भने, ‘नबिग्रियोस भनेर दिनमा २०–२५ पटक त्रिपाल खोल्ने र बन्द गर्ने गर्नुपरेको छ ।’

वीरगञ्ज–भैरहवा रुटका ट्रक चालक अनवर हुसेनले चार दिनसम्म सयौं ट्रक सडकमा रोकिँदा सम्बन्धित पालिकाका जनप्रतिनिधि अवस्था बुझ्न समेत नआएको गुनासो गरे ।

बर्दघाटमै भेटिएका चालक ज्ञानबहादुर कार्कीले पुल भाँचिएको ६ महिनासम्म भरपर्दो विकल्प राज्यले दिन नसक्दा हजारौं चालक र लाखौं यात्रुले सास्ती भोग्नुपरेको बताए । ‘यो सरकारको हदैसम्मको लाचारी र निकम्मापन हो,’ कार्कीले भने, ‘अरु देशमा भएको भए ६ घण्टामै विकल्प तयार हुन्थ्यो तर हाम्रोमा लाजमर्दो अवस्था छ ।’

५ असार राति साढे ११ बजेतिर काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको भे१ख ४०८५ नम्बरको यात्रुवाहक बस पूर्वी नवलपरासीको दुम्कीबासस्थित विनयी खोलाको बाढीमा फस्यो । डाइभर्सन बाढीले बगाएसँगै भेलमा फसेको बसबाट राति साढे ११ बजेदेखि २ बजेसम्मको प्रयासमा २४ जना यात्रुको सकुशल उद्धार भयो । दुईजना यात्रु पहिले नै आफैं बसबाट ओर्लिएर सुरक्षित भएका थिए ।

यो घटनाले सरकारको चर्को आलोचना भएपछि प्रहरीले उक्त सडकखण्डमा यात्रा नगर्न बिहीबार बिहानै सूचना जारी गरेको थियो । सोही सूचनाका कारण एक हप्ता बढीदेखि दुम्कीबास–दाउन्ने खण्डमा यात्रु र सवारी चालकले सास्ती खेपेका छन् ।

२६ पुस २०८१ दिउँसो भारतीय नम्बर प्लेटको हेभी ट्रक (लरी) का कारण बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल भाँचिएपछि पुलभन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात चलाइएको थियो । तर केही हप्तामै भारी वर्षा हुँदा डाइभर्सन बगाएर पूर्व–पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो ।

त्यतिबेला सम्बन्धित निकायले यसलाई गम्भीर रुपमा लिएन । फलस्वरुप अहिले वर्षायाममा डाइभर्सन बगाउने नियति दोहोरिँदा पूर्वपश्चिम जोड्ने लाइफलाइन हाइवे बारम्बार अवरुद्ध हुन पुगेको छ ।

बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी चुडा ढकालले विनयी खोलामा निर्माणाधीन पुलको काम तीव्र गतिमा भइरहेकाले छिट्टै सञ्चालनमा आउने बताए ।

नवलपुर प्रहरी प्रवक्ता डीएसपी मधु नेपालले असारभित्र पुल सञ्चालनमा आउने बताए । पुल सञ्चालनमा नआउँदासम्मका लागि डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइएकोमा स्थानीयले मालवाहक ट्रक चल्न अवरोध गरेकाले समस्या आएको उनले बताए ।

‘वैकल्पिक मार्गबाट मालवाहक सवारी साधन पनि सञ्चालन गर्न स्थानीयलाई सहमत गराउने काम प्रहरीको भन्दा पनि स्थानीय पालिका, जिल्ला प्रशासन कार्यालयको हो,’ नेपालले भने, ‘ट्रक धेरै दिन सडकमा रोकिने अवस्था अन्त्य गर्न सम्बन्धित निकायको ध्यान जानुपर्छ, गएको होला ।’

तीनपटक म्याद थप्दा पनि पूरा भएन काम

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका काम समयमा नै नसकिँदा सर्वसाधारणले चार वर्षदेखि सास्ती झेल्दै आएका छन् । ११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो । नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ किलोमिटर) मा बाँडेर गरिएको विस्तार भइरहेको छ ।

१६ अर्ब ९९ करोड रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले दुवै खण्डसडक विस्तार गर्ने गरी ठेक्का पाएको थियो । आयोजनाको पश्चिम खण्डमा ६७ प्रतिशत र पूर्वी खण्डमा ६८ प्रतिशत  भौतिक प्रगति भएको छ ।

पश्चिम खण्डमा दाउन्नेको १० किलोमिटरमध्ये ३ किलोमिटर कालोपत्र भइसकेको र बाँकी असार मसान्तसम्म सक्नेगरी काम भइरहेको आयोजना प्रमुख शशांक मिश्रले जानकारी दिए । तर मिश्रले दाबी गरेअनुसार काम हुने अवस्था देखिँदैन । दाउन्नेपूर्वको ४ किलोमिटरमा पनि ढलानको काम भइरहेको तर वर्षाले काममा ढिलाइ भएको आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।

बर्खा अगाडि नै पूर्वी खण्डको यात्रा सहज बनाउने गरी काम भइरहेको खनालले बताए ।

सडकको हाल रहेको दुई लेनलाई बढाएर चार लेन र बजार क्षेत्रमा ६ लेन बनाउने गरी सडक विस्तार तथा स्तरोन्नति गरिएको हो ।

८ चैत २०७५ मा सुरु भएको सडक विस्तारको काम २२ सानउ २०७९ भित्र सकिनुपर्नेमा कोभिड महामारी, रुख कटान, विद्युत पोल सार्न ढिलाइ, खानेपानीको पाइपलाइन, स्थानीय अवरोध, मजदूरका समस्या, ठेकेदार कम्पनीको कारणले निर्माण पूरा हुन सकेको छैन ।

११ साउन २०८० सम्म पहिलोपटक, ८ साउन २०८१ सम्म दोस्रो पटक र ८ साउन २०८२ सम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ । तेस्रो पटक थपिएको अवधिमा पनि सडक विस्तार पूरा हुन नसक्ने निश्चित छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?