काठमाडौँ ९ बैशाख – उदयपुरमा आज (मंगलबार) एकैदिन थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।
धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।
सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो।
संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्। योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ। जसमा पाँच जना निको भएर घर फर्किएका छन्।