‘संघीयतामाथि हस्तक्षेप भए मधेसमा फेरि विद्रोह हुन्छ’

१ हप्ता अगाडी न्युज डेस्क

‘संघीयतामाथि हस्तक्षेप भए मधेसमा फेरि विद्रोह हुन्छ’

जनकपुरधाम ।  समाजसेवी तथा नयाँ कदम नेपालका अध्यक्ष रञ्जित पाण्डेयले संघीयताको मर्ममाथि हस्तक्षेप भए मधेस पुनः विद्रोहमा उत्रिने चेतावनी दिएका छन्।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पाण्डेयले संघीयता केवल शासन प्रणाली नभई मधेसको पहिचान, अधिकार र सम्मानको प्रतीक भएको बताए। उनका अनुसार यसको रक्षा गर्नु सम्पूर्ण नेपाली जनताको साझा जिम्मेवारी हो।

पाण्डेयले हाल देशमा संघीयताको आधारभूत संरचना कमजोर पार्ने र प्रदेशहरूको अधिकार सीमित गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाए। उनले भने, ‘संघीयता मधेशले आन्दोलन, रगत र बलिदानबाट ल्याएको व्यवस्था हो। यसको आत्मा मेट्ने प्रयास भयो भने देश फेरि उथलपुथलमा जान सक्छ।’

पछिल्ला दिनमा केन्द्रले प्रदेशको अधिकार कटौती गर्ने, प्रदेश प्रमुख र मुख्यमन्त्री नियुक्तिमा राजनीतिक स्वार्थ चलाउने र बजेट बाँडफाँडमा असमानता देखाउने जस्ता कार्यहरूले संघीय व्यवस्थामाथि प्रश्न उठेको उनको भनाइ छ।
पाण्डेयले संघीयतालाई नेपालको विविधता र समानताको ग्यारेन्टी बताउँदै भने, ‘संघीयता मधेस, जनजाति, थारु, दलित र पिछडिएका वर्गहरूलाई आवाज दिने प्रणाली हो। यसमा हस्तक्षेप भयो भने केवल मधेस होइन, सारा देश नै अस्थिर हुन्छ।’
उनले संघीयता जनताको संघर्ष र सहिदहरूको बलिदानको उपलब्धि भएको समेत बताए ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?