मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव पदबहाली गर्ने क्रममा भएको झडपमा एकजना पत्रकारसहित दर्जन बढी प्रदर्शनकारीहरु घाइते भएका छन् ।
मुख्यमन्त्री यादव मंगलबार साँझ पदबहाली गर्न मधेश भवन प्रवेश गरेका थिए । मुख्यमन्त्री यादव सहितको टोलीलाई कडा सुरक्षाबीच मधेश भवनस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको थियो । मुख्यमन्त्री यादव पदबहाली गरिरहेको बेला बाहिर विपक्षी दलका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका थिए ।
प्रहरी र प्रदर्शनकारीहरुबीच साँझ भएको झडपमा नागरिक दैनिक पत्रिकाका समाचारदाता सुरेन्द्र कुमार यादवको टाउको फुटेको छ । उनको टाउकोमा प्रहरीले लाठी प्रहार गरेको बताइएको छ । प्रदर्शनकारीहरु तर्फ लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मधेश प्रदेशका प्रमुख सचिव रामविनोद चौधरी(पप्पु), बिधान झा (नेकांका प्रमुख सचेतक कुमरकान्त झाका छोरा), वीरेन्द्र यादव, ज्ञानेन्द्र झा ‘ज्ञानु’, सौरभ चौधरी, वीरेन्द्र मण्डल, बजरंग साह, रामेश्वर मण्डल, देवेन्द्र कुमार यादव, नविन कुमार झा, अजय पण्डित, अजय कुमार राउत, जयप्रकाश झा, आदर्श मण्डल, मुकेश झालगायत घाइते भएका छन् । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।
अस्पतालको इमर्जेन्सीको रेकर्ड अनुसार घाइतेहरुको संख्या यकिन गरिएको छ । तर अन्य अस्पतालहरुमा समेत उपचार भइरहेको जनता समाजवादी पार्टी(जसपा)नेपालका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले जनाएका छन् । सामान्य घाइतेहरु उपचारपछि घर फर्केका छन् । विधान झालाई गाडीबाट झिकेर प्रहरीले लाठीले कुटेको प्रदर्शनकारीहरुले बताएका छन् ।
प्रहरीको लाठीचार्जबाट नै अधिकांश प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रदर्शनकारीहरुको ढुंगा प्रहारबाट ६ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रण गर्न सामान्य बल प्रयोग गरेको धनुषाका प्रहरी प्रमुख एसपी रुगम बहादुर कुँवरले जनाएका छन् ।
बेलुकादेखि स्थिति सामान्य भएको उनले बताएका छन् । तनावका बीच मधेश प्रदेश मुख्यमन्त्रीको कार्यभार सम्हालेका सरोज कुमार यादवले मधेश आन्दोलनका शहीदहरुलाई मधेश रत्नबाट सम्मान गर्ने पहिलो निर्णय गरेका छन् । उनले प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई सुदृढ बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री आवासमा निवर्तमान मुख्यमन्त्री सोनल रहेकाले यादव होटेलमा बसेका छन् । कार्तिक २३ गते मुख्यमन्त्री नियुक्त भएका यादव कार्तिक २४ गते बिहान बर्दिवासस्थित एउटा होटेलमा सपथग्रहण गरेपछि विवादमा परेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी सात दल आक्रोशित बनेका छन् ।
प्रदेश प्रमुख भण्डारीले पदीय आचरण नगरेको अभियोगमा हटाइएको छ । प्राध्यापक डा.सुरेन्द्र लाभ नयाँ प्रदेश प्रमुखको शपथ ग्रहण गरिसकेका छन् । तर उनी पदबहाल गरेका छैनन् । मुख्यमन्त्री सरोज कुमार यादवलाई दीर्घकालीन असर पर्ने कुनै कार्य नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
मुख्यमन्त्रीमा यादवको नियुक्ति असंवैधानिक भएको दाबी सहित सोमबार दुई फरक रिट सर्वोच्च अदालतमा दर्ता गरिएको थियो । सर्वोच्च अदालतले मंसिर १० गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । मुख्यमन्त्री नियुक्ति गैरकानुनी भएको जिकिर गर्दै रकी प्रसाद साहसमेत दुई जनाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार मधेश प्रमुखको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत र अन्य विपक्षीको हकमा प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
प्रदेश प्रमुख भण्डारीलाई सरकारले बर्खास्त गरिसकेको छ । उनले गरेको निर्णयमाथि कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले भनेको छ, ‘यसमा के भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुनुनपर्ने हो ? आदेश जारी हुन नपर्ने भए सोको आधार कारणसहित मंसिर १० गतेभित्र जवाफ पेश गर्नु ।’ रिटमा अन्तरिम आदेश समेत माग भएकाले हाललाई अदालतले दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम कारबाही गर्न मुख्यमन्त्री सरोज कुमार यादवलाई रोक लगाएको छ ।
विपक्षी सात दलको तर्फबाट ७४ जनाको हस्ताक्षर सहित असंवैधानिक प्रक्रियाबाट तत्कालीन प्रदेश प्रमुख भण्डारीले सरोज कुमार यादवलाई गरिएको नियुक्ति खारेजीको मागगर्दै मंगलवार सर्वोच्चमा अर्को रिट दर्ता गरिएको छ । विश्वासको मत लिन लागेको बखत सभामुखले असहयोग गरेपछि मत विभाजनको प्रक्रिया अगावै राजीनामा घोषणा गरेको र तत्कालै प्रदेश प्रमुखलाई राजीनामा समेत बुझाएकाले संविधानको धारा १६८(२)बमोजिम नै सरकार गठनको प्रक्रिया थाल्नु पर्नेमा गैरलोकतान्त्रिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त गरिएकोले खारेज हुनुपर्ने तर्क विपक्षीहरुले गरेका छन् ।
उनीहरुले बहुमतको सरकार बन्ने सम्पूर्ण आधार कायम रहँदारहँदै संविधानको धारा १६८(३)मा जानु दूर्भाग्यपूर्ण रहेको बताएका छन् । गैरसंवैधानिक गतिविधि गरेकी प्रदेश प्रमुख भण्डारीलाई सरकारले बर्खास्त गरेकोले समेत मुख्यमन्त्रीमा यादवको नियुक्ति अवैध रहेको सिद्ध भएको विपक्षी दलहरुको कथन छ ।



