परम्परागत बाटो मासिँदा हात्ती–मानव द्वन्द्व बढ्दो

५ दिन अगाडी न्युज डेस्क

परम्परागत बाटो मासिँदा हात्ती–मानव द्वन्द्व बढ्दो

काठमाडौँ । नेपाल र भारतबिच रहेको खुल्ला सिमाना केवल दुई देशका नागरिकले मात्र नभएर दुई देशको सीमा क्षेत्रमा रहेका विभिन्न वन्यजन्तुहरूले पनि उपयोग गर्ने गर्दछन्  । नेपालको तराई भूभागका जङ्गल क्षेत्र भारतका जङ्गल क्षेत्रसँग जोडिएका छन् । जसले गर्दा यहाँ वन्यजन्तुहरूको आवागमन पनि निकै हुने गर्दछ ।

पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका जङ्गली हात्तीको परम्परागत बसाइ सर्ने बाटो रहेको छ ।

जहाँ हरेक वर्ष कयौँ जङ्गली हात्तीहरू बसाइसराइ गरी नेपाल र भारत आवतजावत गर्ने गर्दछन् । मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जङ्गली हात्तीहरूको परम्परागत बाटो मासिएको छ, जसको कारण मानिसहरूसँग उनीहरूको द्वन्द्व बढ्दो छ । खानेकुराको खोजी र वर्षाको पानीबाट बच्नका लागि यी हात्तीहरू बसाइँ सर्ने गर्छन् ।

प्रत्येक वर्ष यिनीहरूको बसाइँ सर्ने बाटोमा मानव निर्मित संरचनाहरू थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरू बिच द्वन्द्व बढ्दो देखिन्छ । हात्तीहरूको समूहको नाइके जहिले पनि पोथी हात्ती हुन्छ भने धेरै जसो समूहमा एउटा ठुलो भाले हात्ती हुन्छ, जसले बडीगार्डको काम गर्छ ।

एउटा हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ बुढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ र, उनीहरूलाई खाने कुरा र खनिज कहाँकहाँ पाइन्छ भनेर थाहा हुन्छ । हात्तीहरूलाई उनीहरूको परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तु बिचको द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?