गोली हानी वडाध्यक्षको हत्या

४ दिन अगाडी न्युज डेस्क

गोली हानी वडाध्यक्षको हत्या

धनुषामा एकजना प्रहरीले जनप्रतिनिधिमाथि गोली प्रहार गरी हत्या गरेको छ ।

गाउँमा श्राद्ध भोजमा दुई पक्षबीच विवाद भएपछि मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवले विवाद मिलाइरहेका क्रममा प्रहरी शम्भु यादवले गोली हानी हत्या गरेको धनुषा प्रहरीले जनाएको छ । सो घटनामा सात जना घाइतेसमेत भएको जनाइएको छ ।

धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भु यादवले वडाध्यक्षमाथि गोली हानी हत्या गरेका छन् भने सो भोजमा सहभागी भएकाहरुमाथि पनि प्रहरीसंगै रहेका करिब पाँच जनाको समूहले गोली, लाठी र खुकुर ीसमेत प्रहार गरेको स्थानीयसमेत रहेका घाइते मकेश्वर यादवले जनाएका छन् । सो भोजमा सहभागी भएका स्थानीय धर्मनाथ यादवसंग एकजनाको विवाद भएको थियो ।

सोही क्रममा झगडा मिलाउन गएकाहरुमाथि प्रहरी शम्भु यादवको अगुवाइमा रहेको समूहले हातहतियारसमेत प्रयोग गरी घटना घटाएको उनले बताए । यता अभियुक्त प्रहरी जवान शम्भु यादवलाई धनुषा प्रहरीले हिरासतमा लिएको जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले वडाध्यक्षको मृत्यु भएको र दुईजना घाइते भएको जानकारी दिए ।

घटनापछि स्थानीयले वडाध्यक्ष यादवसहित अन्य घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएका थिए । सो क्रममा वडाध्यक्ष यादवलाई चिकित्सकले मृत घोषणा गरेको थियो । यादव स्वतन्त्र रूपमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?